इन्स्पेक्टर बिनुले बलात्कार मुद्दामा फसाइ दिने भन्दै ३० लाख लिएको आरोप, छानबिन गर्न समिति गठन

इन्स्पेक्टर बिनुले बलात्कार मुद्दामा फसाइ दिने भन्दै ३० लाख लिएको आरोप, छानबिन गर्न समिति गठन

काठमाडौं : ललितपुरको प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत इन्स्पेक्टर बिनुकुमारी शाहीमाथि आर्थिक अनियमितताको आरोप लागेपछि त्यसको छानबिन सुरू भएको छ। 

ललितपुर प्रहरी परिसरले शाहीलाई निलम्बन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई सिफारिस गरेको एसपी नरेशराज सुवेदीले जानकारी दिए। 

जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी नरहरि अधिकारीको नेतृत्वमा छानबिन गर्न ७ सदस्यीय समिति गठन गरेको हो। समितिलाई यथाशक्य प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

छानबिन गर्न कार्यालयले उनको जिम्मेवारी पनि खोसेको छ। प्रारम्भिक अनुसन्धानमा अनियमितता भएको केही आधार देखिएको प्रहरीले जनाएको छ। 

शाहीमाथि बलात्कार मुद्दामा फसाइ दिने भन्दै ३० लाख रूपैयाँ लिएको आरोप छ। 

गत असोज ६ मा केही युवतीले आफूहरूमाथि धाकधम्की भएको भन्दै प्रहरीलाई बोलाइपछि बिनुकै संलग्नतामा बलात्कारसम्बन्धी मुद्दामा आर्थिक चलखेल भएको बताइएको छ।

प्रहरीले यस घटनामा अन्य २ जनालाई पनि पक्राउ गरी आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान गरिरहेको छ। 

असोज १०, २०८१ बिहीबार १७:१७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।