झोलुङ्गे पुलको टिकटबारे भिडिओ बनाउँदा आफूविरूद्ध प्रहरीमा उजुरी परेपछि के भन्छिन् आशिका तामाङ?
काठमाडौं : ग्रिन एण्ड क्लिन आशिका फाउन्डेसनकी अध्यक्ष आशिका तामाङले आफूले सामाजिक अभियन्ताको रूपमा विगत केही वर्षदेखि विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको बताएकी छन्।
बिहीबार पत्रकार सम्मेलन गर्दै उनले विकृति, विसंगतिविरुद्ध आफूले विभिन्न कामहरू गर्दै आएको दाबी गरिन्।
आशिका फाउन्डेशनको उक्त अभियानमा लाखौं मानिसहरूको प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहभागिता रहेको उनको दाबी छ। देशको राजधानीदेखि विभिन्न जिल्लाहरूमा आशिका फाउन्डेसनले विविध सामाजिक कार्य सञ्चालन गर्दै आएको उनले सुनाइन्।
उनले भनिन्, ‘वातावरण संरक्षण, सम्वर्द्धन, जलवायु परिर्वतनलगायतका विषयमा जनचेतना जगाउन, वृक्षारोपण, सरसफाइ र डस्टविन राख्ने जस्ता मुख्य कार्य फाउन्डेशनले गरेको छ। समाजमा रहेका विकृति, विसंगती र व्यथितिको अन्त्य र सुशासनका लागि विभिन्न सरोकारवाला निकायसँग छलफल, अन्तरक्रिया तथा खबरदारी कार्य पनि गर्दै आइरहेको छु।’
आशिकाका अनुसार विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को बेला कोभिड उपचार अस्पतालको सञ्चालन, गरिब, असहाय, विपन्न मानिसहरूका लागि खाद्यान्न वितरण, ग्रामीण भेगका सामुदायिक विद्यालयका छात्र, छात्राहरुका लागि ब्याग, कापी, कलम र ड्रेस वितरणलगायतका कामहरू पनि संस्थाले गरेको छ।
उनले आफूहरूले सञ्चालन गर्दै आएको सामाजिक अभियान कसैसँगको प्रतिस्पर्धा नभई एक विशुद्ध सुधारको अभियान रहेको बताइन्।
त्यसअघि सूर्यविनायक नगरपालिकाले वडा नम्बर ९ र १० को सिमानामा अवस्थित झोलुङ्गे पुलमा अराजक गतिविधि गरेको भन्दै आशिकालाई पक्राउ गरी कारबाही गर्न मागसहित प्रहरीमा जाहेरी दिएको छ।
यसबारे बोल्दै उनले आफू नगरपालिकाको यस्ता धाकधम्कीसँग नडराउने बताइन्।
असोज १०, २०८१ बिहीबार १६:३७:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।