ज्याला मजदुरी गर्दैगर्दा हातमा सङ्क्रमण भएपछि टपरी बेच्न थालेका जितेन्द्र, अहिले मासिक डेढ लाख कमाउँछन्

ज्याला मजदुरी गर्दैगर्दा हातमा सङ्क्रमण भएपछि टपरी बेच्न थालेका जितेन्द्र, अहिले मासिक डेढ लाख कमाउँछन्

बरहथवा : सर्लाहीको हरिवन नगरपालिका-४ गेलहाका २० वर्षीय जितेन्द्रकुमार महतोले टपरी बेचेर मासिक एक लाख ५० हजार रूपैयाँ आम्दानी गर्दै आएका छन्। उनले दुई महिनाअघि घरमा दुना टपरी बनाउने उद्योग सञ्चालन गर्न थालेका हुन्।

टायलले छाएको, बाँसको टाटीले बेरेको भुइँ तल्ला घरको एउटा कोठामा दुनाटपरी बनाउने उपकरण जडान गरी उद्योग सञ्चालन गरेको महतोले बताए। महतोले दैनिक एक हजार थान टपरी, भोज खान मिल्ने पात र मागअनुसार दुना बनाएर बजार पठाउने गरेको सुनाए। 

'दिनको एक हजार थान टपरी बजारमा पठाउने गरेको छु। अहिले महिनामा एक लाख ५० हजारसम्म आम्दानी भइरहेको छ, उनले भने। 

दश किलोमिटर टाढा चुरे क्षेत्रबाट दैनिक पात ल्याउने गरेको भन्दै पात टिप्न तीन परिवारका छ जनालाई अस्थायी रूपमा रोजगारी पनि दिएको उनले जानकारी गराए। 

पात टिप्ने परिवारले प्रतिकिलोको ४० रूपैयाँ लिने गरेका छन्। 

'गाँसेको पातको प्रतिथान दुई रूपैयाँ दिन्छु। टपरी बनाएर बेच्दा सबै खर्च कटाएर एकदेखि दुई रूपैयाँसम्म नाफा हुन्छ, महतोले भने। 

तयारी टपरी प्रतिथान पाँच रूपैयाँ, भोज खाने पात प्रतिथान तीन रूपैयाँ र दुना प्रतिथान तीन रूपैयाँमा बिक्री हुने उनले जानाजानी दिए। 

महतोसँगै गाउँका अन्य क्याम्पस पढ्ने चारजना युवाले पनि अध्ययनसँगै फुर्सदको समयमा उक्त कामलाई निरन्तरता दिँदै आएका छन्। 

उनले भने, 'उहाँहरू क्याम्पसबाट आएपछि फुर्सदमा काम गरेर पढाइ खर्च आफैँलै जोहो गर्नुहुन्छ।'

दैनिक दुई/तीन घण्टा काम गरेर ५०० रूपैयाँसम्म आम्दानी हुने गरेको स्थानीय मनिषाकुमारी शर्माले बताए। 

'फुर्सदमा आएर काम गर्छु। यसबाट आएको पैसाले आफूलाई कलेज पढ्न चाहिने खर्च, स्टेसनरी, खाजा, भाडा पुगेको छ, उनले भने। 

उद्योगमा तयार भएका दुनाटपरी जिल्लाको हरिवन, बरहथवा, लालबन्दी, वयलवास, नयाँरोडलगायत बजारसम्म पुर्याउने गरेको उनले सुनाए। 

ग्राहकको मागअनुसार पात तथा तयारी दुनाटपरी दैनिक एकपटक बजारसम्म पुर्याउने गरेको शर्माले बताए। आर्थिक रूपमा विपन्न परिवारका महतो सानैदेखि मिहिनेती रहेका छरछिमेकी बताउँछन्। 

खेतबारी कम भएकाले आम्दानीको विकल्पका रूपमा दुनाटपरी बनाउन थालेको बताउँदै महतोले थोरै लगानीबाट पनि बढी मुनाफा लिन सकिने सुनाए। 

'पाँच जना दिदीहरूको विवाह गर्दा लागेको ऋण तिर्न बाँकी छ, बुबाआमा काम गर्न सक्नु हुँदैन। सुरूमा ज्याला मजदुरी, घर बनाउने ठाउँमा इँटा बोक्ने, प्लास्टर गर्नेलगायत काम गरेँ। हातमा सङ्क्रमण भएपछि ती काम छोडेर यसलाई निरन्तरता दिन थालेको हुँ, उनले भने। 

हरिवन-४ का वडाध्यक्ष केशवराज थापाले नगरपालिकाले युवालाई उद्यममा प्रोत्साहन गर्न तालिम आयोजना गर्न लागेको जानकारी दिएपछि आफूसहित पाँच जना मिलेर दुनाटपरी बनाउने तालिममा सहभागी भएका बताउँदै महतोले तालिम सात दिनसम्म सञ्चालन भएको जानकारी दिए। 

तालिमपश्चात् वडा कार्यालयले दुई लाख ४० हजार अनुदान दिएपछि दुनाटपरी बनाउने उपकरण (मेसिन) खरिद गरी उद्योग दर्ता गरिएको उनको भनाइ छ।
 
बजारमा प्रतिस्पर्धा बढिरहेको भन्दै महतोले प्लास्टिक र कागजका सामग्रीसँग आफूहरूले पातका सामग्रीले प्रतिस्पर्धा गर्नुपरेको बताए। यस्ता साना घरेलु उद्योगलाई स्थानीय सरकार र विभिन्न सङ्घसंस्थाले सहयोग गर्नुपर्नेमा उनको भनाई छ। 

'विभिन्न कार्यक्रम गर्दा उहाँहरूले प्रयोग गर्ने प्लास्टिकका प्लेट, कचौरालगायत सामग्रीको साटो प्राकृतिक पातबाट बनेका दुना टपरी प्रयोग गरिदिन अनुरोध गर्दछौँ', महतोले भने, 'यसबाट वातावरण सफा हुने, युवा स्वरोजगार बन्ने तथा स्थानीय उत्पादनको प्रवर्द्धनसमेत हुने भएकाले सहयोगका लागि सबैलाई आग्रह गर्दछौँ।'

परिवारसँग छुट्टिएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अन्त्य गर्दै स्वदेशमा काम गर्ने वातावरण स्थानीय तहले बनाउनुपर्ने महतोको भनाइ छ।

असोज ९, २०८१ बिहीबार १५:०२:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।