दशैंमा झापाली नेता र कलाकारबीच फुटसल हुने, प्रमोद खरेलदेखि विश्वप्रकाश शर्मासम्म सहभागी हुँदै

दशैंमा झापाली नेता र कलाकारबीच फुटसल हुने, प्रमोद खरेलदेखि विश्वप्रकाश शर्मासम्म सहभागी हुँदै

झापा : प्रथम झापा एक-काठमाडौं कप फुटसल प्रतियोगिता २०८१ संचालन हुने भएको छ। 

डिएभी स्कुल जावलाखेल, ललितपुरमा हुने प्रतियोगितामा ३० बर्ष मुनिका खेलाडी रहने छन्। त्यस फुटसल प्रतियोगितामा ७ वटा टिम समावेश हुने छन्। 

यही १२ मा सन्चालन हुने उक्त फुटसल प्रतियोगितामा झापा क्षेत्र नम्बर १ का ७ वटा टिमबीच प्रतिस्पर्धा हुने भएको छ। जसमा क्षेत्र नम्बर १ का साविकका गाविस शान्तिनगर, बाहुनडाँगी, धाइजन, मेचीनगर, ज्यामीरगढी, दुहागढी र चन्द्रगढी बीच प्रतिस्पर्धा हुने छ।

प्रतियोगितामा विजेता हुने टीमले २१ हजार नगदसहित ट्रफी र सम्मानपत्र पाउने छन् भने दोस्रो हुने टीमले ११ हजार नगदसहित ट्रफी र सम्मानपत्र पाउने आयोजक संस्था झापा १-काठमाडौं सम्पर्क समितिका प्रमुख प्रज्ज्वल कोइरालाले जानकारी दिए।

त्यस अवसरमा झापाका राजनीतिक दलका नेता भर्सेस झापाका कलाकारबीच रोमाञ्चक मैत्रीपूर्ण खेल हुनेछ। 

खेलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एमाले नेता अग्नि खरेल, एलपी साँवासहितका नेताहरू खेल्दै छन् भने कलाकारका तर्फबाट सीताराम कट्टेल, प्रमोद खरेल, एलिना चौहान, विल्सन विक्रम राई, टीका भण्डारी, प्रकाश सुवेदी, हेमन्त बुढाथोकी लगायत भिड्दै छन्। त्यस अवसरमा सभामुख देवराज घिमिरे र कांग्रेस नेता कृष्ण सिटौलाको पनि उपस्थिति हुने छ।

पेशा व्यवसायी भर्सेस कर्मचारी, झापा क्षेत्र नम्बर १ (क) र (ख)का महिला टीमबीच मैत्रीपूर्ण खेलसमेत हुने भएको छ। झापाबाट काठमाडौं आएर बसोबास गर्ने, व्यापार व्यवसाय गर्ने र विद्यार्थीहरूलाई लक्षित गरि उक्त खेलको आयोजना गरिएको छ।

दशैं, तिहार, नेपाल सम्बत र छठको शुभकामना आदान प्रदान गर्ने अवसरको रुपमा झापा १ संघीय सांसद सचिवालय र नेपाली कांग्रेस झापा १-काठमाडौं सम्पर्क समितिले संयुक्त रूपमा प्रतियोगिताको आयोजना गरेको हो। 

असोज ९, २०८१ बिहीबार १४:४३:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।