साउन महिनामा १ खर्ब १६ अर्ब १५ करोड व्यापार घाटा

साउन महिनामा १ खर्ब १६ अर्ब १५ करोड व्यापार घाटा

काठमाडौं : चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिनामा कुल वस्तु निर्यात ९.६ प्रतिशतले घटेर १२ अर्ब १३ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही महिनामा वैदेशिक व्यापारमा ८.७ प्रतिशतल कमी आएको थियो।

वैदेशिक व्यापारको गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा भारतसँग १०.६ प्रतिशत, चीनसँग ५९.८ प्रतिशत र अन्य मुलुकसँग ३.५ प्रतिशतले कमी आएको छ।

नेपालबाट निर्यात हुनेमा पार्टिकल बोर्ड, पिना,चिया,उनी गलैंचा, जुत्ता तथा चप्पल लगायतको वस्तुको निर्यात बढेको छ। भने अलैँची, पाम तेल, जिंक शिट, जुटका सामान, तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको छ।

आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा कुल वस्तु आयात ०.६ प्रतिशत अर्थात् १ खर्ब २८ अर्ब ३८ करोडको नेपाल भित्र्याएको छ। घिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १.६ प्रतिशतले कमी आएको थियो।

त्यस्तै, चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा ०.४ प्रतिशतले बढेको छ। जसमा १ खर्ब १६ अर्ब १५ करोड व्यापार घाटा भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ०.७ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.५ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.५ प्रतिशत रहेको थियो।

असोज १०, २०८१ बिहीबार १४:१८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।