चीन भ्रमण छोट्याएर स्वदेश फर्कियो रास्वपाको टोली
काठमाडौं : दश दिने भ्रमणका लागि चीन पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को टोली स्वदेश फर्किएको छ।
दश दिने भ्रमणका लागि भन्दै गत शनिबार राति चीन पुगेको पार्टी उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको टोली भ्रमण छोट्याएर बिहीबार स्वदेश फर्किएका हुन्।
स्वदेश फर्किएसँगै त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै रास्वपा उपसभापति स्वर्णिम वाग्लेले रवि लामिछानेलाई मात्र नभई पार्टीमाथि नै प्रहार भएको बताएका छन्।
उनले भने, ‘यो अप्ठ्यारो घडीमा पार्टीको सभापति भनेको व्यक्ति रवि लामिछाने मात्र होइन त्यो संस्था हो। पार्टी संस्थामाथि प्रहार भैइरहेको छ। एउटा इगोका कारण हामी एकजुट भएर यसको सामना गर्नुपर्छ।’
यस्तै डा. तोसिमा कार्कीले अब निलो क्रान्ति हुने बताइन्।
उनले भनिन्, ‘क्रान्ति उग्र मात्र नभई शालीन पनि हुन्छ। क्रान्ति रातो मात्र हुन्न, निलो पनि हुन्छ। शान्तिपूर्ण ढंगले र शालिन तरिकाले बौद्धिक क्रान्ति गर्नेछौँ। देशलाई सम्वृद्धिको बाटो खोज्ने क्रान्ती नै निलो क्रान्ति हो।’
दश दिनका लागि चीन गएको टोली पार्टी सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा प्रहरीले पक्राउ गर्ने हल्ला बढेपछि भ्रमण छोट्याएको हो।
बेइजिङ पुग्ने कार्यक्रम भएपनि उक्त कार्यक्रम स्थगित गरी सांघाइ लगायतका शहरको आधुनिक प्रविधिको अवलोकन र प्राज्ञिक विचार विमर्श गरी टोली आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
टोलीमा आज आठ जना छन् भने बाँकी छ जना भोलि फर्कने उपसभापति वाग्लेले बताए।
असोज १०, २०८१ बिहीबार १४:०६:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।