साउनको महंगी ४.१ प्रतिशत कायम, तरकारीको बढ्दा मरमसलाको घट्यो

साउनको महंगी ४.१ प्रतिशत कायम, तरकारीको बढ्दा मरमसलाको घट्यो

काठमाडौं : २०८१ साउन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अुनसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.५२ प्रतिशत रहेको थियो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१७ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत रहेको छ।

अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ८.९० प्रतिशत र ६.६२ प्रतिशतले वृद्धि भएको थियो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १९.०७ प्रतिशत, दाल तथा गेडागुडीको १२.०९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ३.६६ प्रतिशतले बढेको छ भने मरमसला उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २.७५ प्रतिशतले घटेको छ।

गैर-खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ७.९४ प्रतिशत, मदिराजन्य पेय पदार्थको ५.३८ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ४.५८ प्रतिशत र सुर्तीजन्य पदार्थको ३.५२ प्रतिशतले बढेको छ भने विमा तथा वित्तीय सेवा उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्कमा परिवर्तन भएको छैन।

समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.२८ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.०३ प्रतिशतले बढेको छ।

समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशत, तराईको ४.४९ प्रतिशत, पहाडको ३.६७ प्रतिशत र हिमालको ४.५३ प्रतिशत रहेको छ । २०८० साउन महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ८.५० प्रतिशत, ६.७० प्रतिशत, ७.५० प्रतिशत र ११.४६ प्रतिशत रहेको थियो।
 

असोज १०, २०८१ बिहीबार १३:२९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।