चीनद्वारा अन्तर-महादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण

चीनद्वारा अन्तर-महादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण

एजेन्सी : चीनले बुधबार अन्तर-महादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) को सफल परीक्षण गरेको छ।

यस मिसाइलमा नक्कली वारहेड जडान गरिएको थियो। बीबीसीका अनुसार सन् १९८० पछि चीनले प्रशान्त महासागरमा आईसीबीएम मिसाइल परीक्षण गरेको यो पहिलो पटक हो।

मिसाइल बिहान पौने ९ बजे प्रक्षेपण गरिएको थियो। चीनको रक्षा मन्त्रालयले उक्त क्षेप्यास्त्र समुन्द्रको अपेक्षित ठाउँमा खसेको जनाएको छ।

यो चीनको वार्षिक प्रशिक्षणको हिस्सा हो। यद्यपि यस मिसाइलको विशेषता र यसको प्रक्षेपण गर्ने स्थानबारे कुनै जानकारी आएको छैन।

चीनले क्षेप्यास्त्र परीक्षणको बारेमा जानकारी छिमेकी मुलुकलाई जानकारी गराएको सरकारी मिडिया सिन्ह्वाले जनाएको छ। तर, जापानले यसलाई अस्वीकार गरेको छ।

अहिलेसम्म चीनले आफ्नो आईसीबी मिसाइलको परीक्षण देशभित्र गर्दै आएको छ। हालसम्म यी सिनजियाङ क्षेत्रको ताक्लामाकान मरुभूमिमा गरिएको थियो।

परीक्षणपछि चीनले कुनै एक देशलाई निशाना बनाएर परीक्षण नगरिएको बताएको छ। तर, जापान, फिलिपिन्स र ताइवानसँगको तनावबीच यो परीक्षण महत्वपूर्ण मानिएको छ।

चीनले पछिल्लो पटक सन् १९८० को मे महिनामा अन्तर्राष्ट्रिय जलक्षेत्रमा आईसीबीएम परीक्षण गरेको थियो। त्यसपछि नौ हजार ७० किलोमिटरको दुरी तय गरी प्रशान्त महासागरमा टार्गेट हिट गरिएको थियो।

यस परीक्षणमा १८ चिनियाँ नौसैनिक जहाजहरूले भाग लिएका थिए। यसलाई चीनको अहिलेसम्मकै ठूलो नौसेना मिसन मानिन्छ।

असोज ९, २०८१ बिहीबार ०७:५०:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।