मोसादको मुख्यालय नजिकै हिजबुल्लाहद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

मोसादको मुख्यालय नजिकै हिजबुल्लाहद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

एजेन्सी : लेबनानको हिजबुल्लाह संगठनले बुधबार इजरायली गुप्तचर एजेन्सी मोसादको मुख्यालय नजिक मिसाइल आक्रमण गरेको छ।

आफूले टारगेट बनाएको भवनमा लेबनानमा भएको पेजर विष्फोटको योजना बनेको हिजबुल्लाहको दाबी छ।

राजधानी तेल अवीवमा भएको यो आक्रमणमा हिजबुल्लाहले ब्यालेस्टिक मिसाइल प्रयोग गरेको छ।

समाचार एजेन्सी अल जजिराका अनुसार विगत आठ दिनदेखि चलिरहेको इरान समर्थित हिजबुल्लाह र इजरायलबीचको द्वन्द्वमा क्षेप्यास्त्र तेल अवीवसम्म पुगेको यो पहिलो पटक हो।

तर, इजरायलले भने क्षेप्यास्त्र हावामै निष्क्रिय पारिएको बताएको छ। बुधबार इजरायली आक्रमणमा ५१ लेबनानी नागरिक मारिएका छन्। दुई सयभन्दा बढी घाइते छन्।

इजरायली सेनाले लेबनानमा रहेको हिजबुल्लाहको खुफिया निर्देशनालयसँग सम्बन्धित ६० स्थानलाई निशाना बनाएको दाबी गरेको छ। यी स्थानहरूमा  हवाई आक्रमणको साथमा साथमा बमबारी पनि गरिएको थियो । सेनाले गुप्तचर संकलन उपकरण र कमाण्ड सेन्टरहरू ध्वस्त पारेको बताएको छ।

अर्कोतर्फ इजरायली सेना प्रमुखले लेबनानमा सेनाले सम्भावित जमिन अपरेशनको तयारी गरिरहेको बताएका छन्। लेबनानमा हालसम्म ९० हजारभन्दा बढी नागरिक विस्थापित भएका छन्।

लेबनानको राजधानी बेरुतमा मङ्गलबार इजरायली हमलामा हिजबुल्लाहका मिसाइल कमाण्डर इब्राहिम कुबैसी मारिएका छन्। यसबाहेक अन्य ५ जनाको पनि मृत्यु भएको छ।

इजरायलले लेबनानमा विगत ५ दिनदेखि लगातार आक्रमण गरिरहेको छ। योसँगै लेबनानमा २ दिनमा मृत्यु हुनेको संख्या ५ सय ६९ पुगेको छ।

असोज ९, २०८१ बिहीबार ०७:३३:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।