आइतबारसम्म देशभर भारी वर्षा हुने, ५६ जिल्लामा ‘रेड अलर्ट’

आइतबारसम्म देशभर भारी वर्षा हुने, ५६ जिल्लामा ‘रेड अलर्ट’

काठमाडौं : देशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परिरहेको छ। अहिले कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी परेको छ।

दिउँसोपछि सबै प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आजदेखि आउँदो आइतबारसम्म ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको छ। महाशाखाले विशेष बुलेटिन निकालेर आइतवार बिहानसम्म सातवटै प्रदेशमा आरीघोप्टे पानी पर्ने चेतावनी दिएको हो।

यो अवधिमा बाढीपहिरोका घटनासमेत बढ्न सक्ने भएकाले महाशाखाले सात प्रदेशका ५६ जिल्लालाई उच्च सावधानी अपनाउनुपर्ने अर्थात् रेड अलर्टमा राखेको छ।

महाशाखाले तत्काल धान नकाट्न र ट्रेकिङमा नजान पनि भनेको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै ठाउँ तथा मधेस, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।

गण्डकी र लुम्बिनीका थोरै तथा कोशी, बागमती, मधेस, कर्णाली र सुदूरपश्चिमका एक/दुई ठाउँमा भने अति ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले रेड अलर्ट अर्थात् उच्च सावधानी अपनाउनुपर्ने भनेर सूचीकृत गरेको जिल्लामा झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, उदयपुर, भोजपुर, इलाम र पाँचथर रहेका छन् । यस्तै, सिरहा, सप्तरी र पर्सा, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप छन्।

यसका अलावा म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ, रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके र बर्दिया, जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा कैलाली, डोटी र अछाममा पनि उच्च सावधानी अपनाउन महाशाखाले भनेको छ।

बङ्गालको खाडीबाट र अरब सागर दुवैतिरबाट उच्च जलवाष्पसहितको वायु नेपालतिर आइरहेकोले देशभर उच्च वर्षाको सम्भावना रहेको हो। मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ नसरे पनि मनसुन सक्रिय गराउने न्यूनचापीय प्रणाली सघनरूपमा विकास भएको महाशाखाले जनाएको छ।

यस्तै उपल्लो वायुमण्डलमा पनि न्यूनचापीप प्रणाली विकास भएको छ। नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो। तर यस वर्ष अक्टोबर ७ अर्थात असोज २१ गतेसम्म मनसुन कायम रहने मौसमविदको अनुमान छ।

असोज ९, २०८१ बिहीबार ०७:१७:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।