साफ यु-१७ च्याम्पियनसिप : भुटानलाई उसकै मैदानमा हराउँदै नेपाल सेमिफाइनलमा

साफ यु-१७ च्याम्पियनसिप : भुटानलाई उसकै मैदानमा हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं : भुटानमा जारी साफ यु-१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटानलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। 

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा आज भएको समूह ‘बी’को अन्तिम खेलमा नेपालले भुटानलाई २-१ को गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।

खेलमा पहिलो अग्रता भने भुटानले लियो। खेलको ४३ औं मिनेटमा छिमी तोब्देन दोर्जीले गोल गरे। त्यसपछि खेलको ५६ मिनेटमा नेपालका कृष्णबहादुर आलेले गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याए। 

खेलको ८५ औँ मिनेटमा नेपालका अर्का खेलाडी सुजन डङ्गोलले गोल गर्दै नेपाललाई २-१ को जीत दिलाए।

जीतसँगै नेपाल तीन खेलबाट ६ अङ्क जोडेर समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल पुगेको हो। दुई जीत र एक बराबरीसहित ७ अङ्क जोडेको पाकिस्तान समूह ‘बी’को विजेता बन्दै सेमिफाइनल पुगिसकेको छ।

नेपालले सेमिफाइनलमा समूह ‘ए’को विजेता भारतसँग खेल्नेछ। 

त्यस्तै, अर्को सेमिफाइनल खेलमा पाकिस्तान र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ। 

दुवै सेमिफाइनल खेल यही असोज १२ मा हुनेछ। 

असोज ८, २०८१ बुधबार २१:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।