एफसी यू-२० एसियन कप छनोट : नेपालको पोस्टमा उज्वेकिस्तानको ६ गोल

एफसी यू-२० एसियन कप छनोट : नेपालको पोस्टमा उज्वेकिस्तानको ६ गोल

काठमाडौं : एफसी यू-२० एसियन कप छनोटअन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग पराजित भएको छ। 
    
चाइनिज ताइपेको न्यू ताइपेई सिटीमा आज भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ६-० गोलअन्तरले पराजित भएको हो। 

खेलको २४ र २७ औँ मिनेटमा उज्वेकिस्ताका साइदनुरल्लायभले दुई गोल गरे। त्यस्तै, खेलको २९ औँ मिनेटमा नुर्लान इब्राइमोभले गोल गरेपछि उज्वेकिस्तानले पहिलो हाफमा ३-० को अग्रता बनायो। 

त्यसपछि खेलको दोस्रो हाफमा पनि उज्वेकिस्तानले तीन गोल नै थप्यो। उज्वेकिस्तानका लागि मिर्जाएभले ६८औँ मिनेटमा गोल गरे भने खेलको ८८ औँ मिनेटमा मेयिरबेक रेजाबालिएभल एक गोल गरे। 

खेलको ९०औँ  मिनेटमा अब्दुगाफुर हेदारोभले गोल गरेसँगै उज्वेकिस्तानले नेपालमाथि ६-० गोलको जित निकाल्यो। 

एसियन छनोटमा समूह ‘बी’मा रहेको नेपालको यो दोस्रो हार हो। 

पहिलो खेलमा कम्बोडियासँग नेपाल ४-१ गोलअन्तरले पराजित भएको थियो। नेपालले दोस्रो खेलमा घरेलु टोली चाइनिज ताइपेईलाई ३-१  गोलअन्तरले पराजित गरेको थियो।

यता उज्वेकिस्तानको यो लगातार दोस्रो जित हो। उज्वेकिस्तानले पहिलो खेलमा कम्बोडियालाई ७-० गोलअन्तरले पराजित गरेको थियो। 

लगातार दुई खेल जितेको उज्वेकिस्तान ६ अङ्क जोडेको छभने तीन खेलको नेपालको तीन अङ्क नै रहेको छ। 

नेपालले समूह चरणको आफ्नो अन्तिम खेल यही असोज ११ मा बहराइनसँग खेल्नेछ। 

समूह ‘बी’मा नेपालसहित उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेई र कम्बोडिया रहेका छन्। आगामी सन् २०२५ मा हुने एएफसी यू-२० एसियन कप छनोटमा कुल ४५ राष्ट्रको सहभागिता रहेको छ। जसलाई विभिन्न दश समूहमा विभाजन गरिएको छ। 

प्रत्येक समूहको विजेता र उत्कृष्ट पाँच उपविजेता यू-२० टोली एसियन कपमा छनोट हुनेछन्।

असोज ८, २०८१ बुधबार २१:५०:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।