भोलिदेखि चार दिनसम्म देशभर मौसम बदली हुने, ५६ जिल्ला उच्च जोखिममा
काठमाडौं : गएको बिहीबारदेखि लगातार देशभर मौसम बदली हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज अपराह्न विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै उक्त बदलीपछि पर्ने वर्षाका कारण ५६ जिल्ला उच्च जोखिममा रहेको जानकारी गराएको छ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
'बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावको कारण २०८१ असोज १० गते दिउँसोदेखि असोज १३ सम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ', महाशाखाले भनेको छ।
देशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको जनाइएको छ। साथै, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ।
असोज १० को दिउँसोदेखि देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा मधेश प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। देशका तराई भू–भागका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना छ।
असोज ११ देखि देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी प्रदेश, बागमती प्रदेशका, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा तथा मधेश प्रदेशका थोरै मेघगर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।
त्यस्तै, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित अति भारी वर्षाकोसमेत सम्भावना रहेको छ।
असोज १२ मा देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र बागमती प्रदेशका, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।
देशका लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
असोज १३ मा देशभर आंशिकदेखि साधारणतया बदली रही देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।
यस प्रणालीको प्रभावले विशेषगरी वर्षाको कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको जनाइएको छ।
यस्तै, महाशाखाले ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध गरेका छ।
यी जिल्ला उच्च जोखिममा
महाशाखाका अनुसार विभिन्न ५३ जिल्लालाई रेड जोनमा राखेको छ। ती जिल्ला उच्च जोखिममा रहेको भन्दै विभागले विशेष बुलेटिनमार्फत सावधानी अपनाउन अनुरोध गरेको छ।
महाशाखाका अनुसार कोशी प्रदेशका झापा, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, उदयपुर, भोजपुर, इलाम, पाँचथर, मोरङलाई उच्च जोखिममा राखिएको छ। यस्तै, मधेश प्रदेशका सिरहा, सप्तरी र पर्सा पनि उच्च जोखिममा रहेका छन्।
बागमतीका मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप उच्च जोखिममा छन् । गण्डकी प्रदेशको म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ जिल्ला जोखिममा छन्।
यस्तै, लुम्बिनीका जाजरकोट, रुकुमपश्चिम, दैलेख, सुर्खेत, सल्यान तथा सुदूरपश्चिमको डोटी, कैलाली र अछाम जिल्ला उच्च जोखिममा रहेको जनाइएको छ।
असोज ९, २०८१ बुधबार २१:२९:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।