चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र  ४.९ प्रतिशत विस्तार हुने एडिबीको प्रक्षेपण

चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र  ४.९ प्रतिशत विस्तार हुने एडिबीको प्रक्षेपण

काठमाडौं : आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४.९ प्रतिशतले विस्तार हुने एसियाली विकास बैँक (एडिबी)को प्रक्षेपण छ। 

अर्थतन्त्र अघिल्लो आर्थिक वर्षकोभन्दा ३.९ प्रतिशत माथि रहने एडिबीको प्रमुख आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुकले जनाएको छ।

आन्तरिक मागमा वृद्धि, पूर्वाधार खर्चमा तीव्रता र पर्यटनसम्बन्धी सेवाहरूको पुनर्उत्थानले कुल गार्हस्थ उत्पादन (जीडीपी) बढ्ने नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आनों कोश्वाले बताएका छन्। 

एसियन डेभलपमेन्ट आउटलुकका अनुसार सामान्य मनसुनसँगै समयमै धान रोपाई सम्पन्न भएकाले कृषि क्षेत्रको वृद्धि फसल संकलनको अनुकुलतामा निर्भर रहनेछ। विद्युत उत्पादन क्षमतामा वृद्धिले औद्योगिक वृद्धिलाई टेवा दिनेछ। पर्यटकको आगमनमा वृद्धिले आवास र भोजन सेवाहरू लगायतका गतिविधि वृद्धिमा सहयोग पुग्न गई सेवा क्षेत्र विस्तार हुने अपेक्षा गरिएको छ। 

त्यस्तै, अर्थतन्त्रको विकासको प्रमुख अंग मानिने लचक मौद्रिक नीति, पूँजीगत बजेटको खर्चलाई तीव्रता दिने योजनासँगै आन्तरिक मागमा थप सुधार हुनुका साथै थोक तथा खुद्रा व्यापार, यातायात, भण्डारण र घरजग्गा जस्ता व्यावसायिक गतिविधि सुदृढ हुने अपेक्षा गरिएको छ।

आर्थिक चालु वर्षमा मुद्रास्फिति ५ प्रतिशतभित्रै सीमित गर्ने नेपाल राष्ट्र बैंकको लक्ष्य हासिल हुनसक्ने देखिन्छ। सरल फसल संकलन तथा नेपालको आयातको मुख्य स्रोत भारतमा मुद्रास्फितिमा सामान्य गिरावट आएसँगै मुद्रास्फिति केन्द्रीय बैंकले निर्धारण गरेको सीमामै रहने प्रक्षेपण गरिएको छ।

बाह्य जोखिमहरू भने सापेक्ष रूपमा नियन्त्रणमा रहनेछ। व्यापार घाटामा गिरावट, उत्साहवर्द्धक विप्रेषण आप्रवाह र पर्यटक आगमनमा वृद्धिले गत आर्थिक वर्ष २०८०/८१ मा नै बाह्य क्षेत्रमा सुदृढ देखिएको छ। 

यद्यपि, चालु आर्थिक वर्षमा चालु खाता घाटा कुल गार्हस्थ उत्पादनको एक प्रतिशतसम्म पुग्नसक्छ, जुन गत आर्थिक वर्षमा अर्थतन्त्र पुनर्उत्थान तथा विप्रेषण आप्रवाहमा मध्यम सुधारसँगै ३.९ प्रतिशतले बचतमा रहेको एसियन डेभलपमेन्ट आउटलुकले जनाएको छ। 

त्यस्तै, मध्यपूर्वमा कुनै पनि भूराजनीतिक तनाव गहिरिएको खण्डमा नेपालको विप्रेषण आयमा असर पर्नुका साथै इन्धन र खाद्यान्नको मूल्यमा वृद्धि हुनसक्छ। विश्वव्यापी आर्थिक मन्दीले पर्यटन आयलाई समेत असर गर्न सक्छ। 

प्राकृतिक विपद् तथा जलवायु प्रकोपहरू नेपालको आर्थिक वृद्धिमा चिरस्थायी जोखिमका रूपमा रहेका एसियन डेभलपमेन्ट आउटलुकले जनाएको छ।

असोज ८, २०८१ बुधबार २१:१७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।