अजय सुमार्गीले ठेक्का लिएको चौकुने सिमेन्ट १५ वर्षदेखि अलपत्र, ‘अत्ति’ भएपछि पालिकाको ठेक्का रद्द गर्ने चेतावनी!

अजय सुमार्गीले ठेक्का लिएको चौकुने सिमेन्ट १५ वर्षदेखि अलपत्र, ‘अत्ति’ भएपछि पालिकाको ठेक्का रद्द गर्ने चेतावनी!

सुर्खेत : खानी तथा भूगर्भ विभागले २०६६ सालमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिकास्थित रहेको चौकुने क्षेत्रमा सिमेन्ट उद्योग सञ्चालनका लागि व्यवसायी अजय सुमार्गी अध्यक्ष रहेको मुक्तिश्री इण्डष्ट्रिज प्रालिलाई इजाजत दियो। सोही अनुसार मुक्तिश्रीले चौकुने गाउँपालिकास्थित आयोजनास्थलमा सम्पर्क कार्यालय खोल्यो पनि। त्यसपछि अहिलेसम्म मुक्तिश्रीले खानी नवीकरण गर्नुबाहेक उपलब्धि केही भएन। 

१५ वर्षमा धेरैपटक सुमार्गी आफैं चौकुने खानीमा आएर अध्ययन अवलोकन गरिरहे। कहिले हेलिकप्टर त कहिले गाडीमा आएका उनले पटक-पटक चौकुनेका नागरिक र पालिकालाई उद्योग सञ्चालन गर्ने आश्वासन दिँदै आएका छन्। तर, आयोजना भने अलपत्र छ। 

उनले ०७६ असार ५ मा सुर्खेत आएर पत्रकार सम्मेलनमा ‘आर्थिक सूर्य अब कर्णालीबाट उदाउने’ भन्दै ०७७ भदौबाट प्रतिदिन ६ सय टन सिमेन्ट उत्पादन गरिने प्रतिवद्धता जनाएका थिए। तर, चार वर्षसम्म पनि उनको प्रतिवद्धताले पूर्णता पाएन। सोही कारण चौकुनेका स्थानीय मात्रै होइनन्, त्यहाँको स्थानीय सरकारसमेत मुक्तीश्रीसँग आजित भएको छ। 

गएको भदौ ११ मा मात्रै चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले त्यस कम्पनीलाई अलपत्र रहेको उद्योग संचालन गर्ने-नगर्ने सम्बन्धमा ध्यानाकर्षण गराउँदै एक पत्र पठाएका थिए। 

पत्रमार्फत उनले प्रस्तावित चौकुने सिमेन्ट उद्योगले विगत लामो समयदेखि निर्माण ठेक्का पाएको मुक्तिश्री प्रालिले हालसम्म पनि उद्योग सञ्चालन गर्न नसकेको र उद्योगलाई संचालन नगर्ने नियतले अन्यौलतामा पारेको उल्लेख गरेका छन्।

पालिकाका अध्यक्षले दिएको पत्रमा भनिएको छ, ‘इजाजत अनुमति पत्र पाएको एक दशक बित्दा पनि चुनढुङ्गा उत्खनन् कार्य नगरी पटक-पटक म्याद मात्र थप्दै आएको र खानी क्षेत्र चौकुने गाउँपालिका वडा नम्बर ६ कुवा, खोप्री, थरालगाउँ काफलगैरा, ओटपोखरी लगायतका क्षेत्रफलमा फैलिएको छ। यति ठुलो आयोजना संचालन हुन नसक्दा चौकुने गाउँपालिका लगायत आसपासका नागरिकको रोजगारी खोसिनुका साथै अन्य विकासमा समेत नकरात्मक असर परेको कुरा जानकारी गराउन चाहन्छु।' 

उद्योग संचालनमा ल्याउन सकिने अवस्था छ या छैन? यसको यथासिघ्र तथ्यसहित जानकारी दिन र यदि उद्योग संचालन गर्न सम्भव छ भने उद्योगलाई आवश्यक पर्ने दर्ता जग्गाको हकमा सरकारी नियमअनुसार अधिग्रहण प्रक्रियामा जान र सरकारी ऐलानी जग्गाको हकमा एकमुस्ट जग्गा प्राप्तिको प्रक्रियामा जानसमेत उनले अनुरोध गरेका छन्। 

अन्यथा उद्योग संचालन नहुने अवस्थामा चौकुने गाउँपालिकाबाट दिइने सेवा सुविधाहरुबारे गाउँ कार्यपालिकाले पुनर्विचार गर्नसक्ने चेतावनी दिँदै अध्यक्ष विकले कम्पनीले खानी ‘होल्ड’ गर्ने नियत राखेको बताए।

‘१५ वर्षदेखि विभिन्न आश्वासन दिने र खानी मात्रै होल्ड गर्ने नियत मुक्तिश्रीको भएका कारण ध्यानाकर्षण र ताकेता गरेका थियौं,’ अध्यक्ष विकले भने, ‘यति लामो समयसम्म काम नगर्ने निर्माण कम्पनीको लाइसेन्स नवीकरण गर्न नदिने कुरा पनि हामीले स्पष्ट राखेका छौं। उहाँहरूले काम गरिरहेकै छौं भनेर लिखित जवाफ दिनुभएको छ।’

उता, मुक्तिश्रीको तर्फबाट अध्यक्ष सुमार्गीले भने ९० रोपनी जग्गा खरिद गरिसकेको, खानी सञ्चालनका लागि थप ३ सय रोपनी र सिमेन्ट कारखाना स्थापना तथा सञ्चालनका लागि ५ सय रोपनी आवश्यक परेको भन्दै सहजीकरणको लागि पालिकालाई समेत सहयोग मागेका छन्।

सुमार्गीले चौकुने गाउँपालिकालाई जवाफमा भनिएको छ, ‘कम्पनीले सुर्खेत जिल्लाको साविक गुटु हाल चौकुने गाउँपालिकामा सिमेन्ट उद्योग स्थापना र सञ्चालनको लागि सुर्खेत जिल्लाको घाटगाउँ गाविसमा रहेको रातोमाटो उत्खनन अनुमतिपत्र नम्बर ०३९–०६६/६७, सोही जिल्लाको गुटु गाविसमा रहेको रातोमाटो उत्खनन अनुमतिपत्र नम्बर ०४०–०६६/६७ र चुनढुंगा उत्खनन अनुमतिपत्र नम्बर ०४१–०६६/६७ का अनुमतिपत्रहरू खानी तथा भुगर्भ विभागबाट प्राप्त गरी करिब ९० रोपनी जग्गा खानी क्षेत्रमा खरिद गरी सकिएको र खानी सञ्चालनका लागि थप ३०० रोपनी क्षेत्रफल जग्गा र सिमेन्ट कारखाना स्थापना तथा सञ्चालनका करिव ५०० रोपनी जग्गा आवश्यक रहेको ब्यहोरा जानकारी गराउँछौं।' 

पत्रमा ती जग्गाहरू खरिद गर्दा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित समितिले तय गरेको मूल्यमा जग्गा खरिद गर्न सकिने भन्दै त्यसका लागि आवश्यक सिफारिस, सहयोग गर्नसमेत पालिकालाई आग्रह गरिएको छ। 

विभिन्न चरणमा काम भइरहेको र केही जग्गाको अधिग्रहणमा समस्या देखिएका कारण जग्गा प्रक्रियाले पूर्णता पाउन नसकेको मुक्तिश्रीका प्रोजेक्ट कोअर्डिनेटर लोकबहादुर अधिकारीले बताए।

‘खानी क्षेत्रमा ९० रोपनी जग्गा अधिग्रहण गरिसकेका छौं। बाँकी पनि प्रक्रियामा चलिरहेको छ,’ कोअर्डिनेटर अधिकारीले भने, ‘खानी योजना स्रोत खानी विभागमा पठाएका छौं। बाँकी कामहरू चरणवद्धरुपमा अगाडि बढ्नेछन्।’

हैरान छन् स्थानीय 
यहाँका नागरिकमा सिमेन्ट उद्योग सञ्चालनका लागि इजाजत दिँदा सडक, विद्युतलगायतका सुविधाका साथै स्थानीयलाई गाउँमै रोजगारी पाउने आशा थियो। तर, इजाजत पाएको १५ वर्ष पुगिसक्दासमेत उद्योग सञ्चालनमा कम्पनीले चासो नदेखाउँदा उद्योग सञ्चालन आउनेमा शंका व्यक्त गर्छन् चौकुने गाउँपालिका–६ का जीवन देवकोटा।

‘१५ वर्षसम्म आशै आशमा बित्यो। तर, उद्योगले केही गति लिन सकेको छैन। एक जना प्रतिनिधि पठाएर बोर्ड मात्रै टाँसेको छ,’ देवकोटाले भने, ‘काम नगर्ने भए लाइसेन्स अर्कोलाई दिएर भएपनि काम गर्न आवश्यक छ।’

उद्योग स्थापना हुन सके धेरैले घरमै रोजगारी पाई भारततिर जान नपर्ने अर्का स्थानीय कुन्दन भण्डारीले बताए।

‘धेरै युवा र बालबालिका कमाउनकै लागि कालापहाड र सिम्ला जान्छन्। घर दैलोमा नै उद्योग स्थापना भए, यहिँकाले रोजगारी पाउँछन्। यसरी खानी होल्ड गर्ने कम्पनीको लाइसेन्स खारेज गर्नुको विकल्प नै छैन, भण्डारीले भने। 

कम्पनीका अनुसार उद्योगमा दुई हजार पाँच सय जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ।

गाउँपालिका र प्रदेश सरकारले आर्थिक वर्ष ०७६/७७ कै बजेटबाट खानी क्षेत्रसम्म पहुँच सडक निर्माण गरिसकेका छन्। त्यस्तै, राष्ट्रिय प्रशारण लाइनसमेत जोडिसकेको छ।

खानी क्षेत्र चौकुने गाउँपालिका अन्तर्गत चौकुने, कुवा, खोप्री, थरेलगाउँ, काफलगैरा र ओटपोखरीमा गरी कूल ११ हजार रोपनी क्षेत्रफलमा फैलिएको छ। आयोजनाका लागि कम्तीमा एक हजार तीन सय ९९ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने आयोजनाले जनाएको छ।

पटक-पटक ध्यानाकर्षण  
खानी विभागले २०३५ देखि ०३९ सालसम्म चौकुनेको चुनढुङ्गा परीक्षण गरेर सिमेन्ट उत्पादन गर्न योग्य प्रमाणित गरेको थियो। कारखाना सञ्चालन गर्न करिब आठ अर्ब लागत लाग्ने अनुमान गरिएको छ। कम्पनीले दैनिक एक हजार पाँच सयदेखि पाँच हजार टनसम्म सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ।

सुर्खेतका व्यवसायी, राजनीतिक दलका नेताहरुलेसमेत पटक-पटक प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराउँदै आएपनि सुमार्गीले भने राजनीतिक पहुँचका आधारमा पटक-पटक म्याद थप्दै आएका छन्। 

विभागले पहिलो पटक २०७४ मा लाइसेन्स रद्द गरेको थियो। लाइसेन्स रद्द भएपछि सुमार्गी अदालत गए।

तर, उच्च अदालत पाटनको आदेशपछि विभागले पुनः नवीकरण गरेको थियो। 

असोज ८, २०८१ बुधबार २०:५५:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।