सूर्यविनायक नगरपालिकाले आशिकालाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दियो, झोलुङ्गे पुलको टिकटबारे भ्रम फैलाएको दाबी

सूर्यविनायक नगरपालिकाले आशिकालाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दियो, झोलुङ्गे पुलको टिकटबारे भ्रम फैलाएको दाबी

भक्तपुर : सूर्यविनायक नगरपालिकाले वडा नम्बर ९ र १० को सिमानामा अवस्थित झोलुङ्गे पुलमा अराजक गतिविधि गर्ने महिलालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएको छ। 
    
आफूलाई सामाजिक अभियन्ता भन्दै सार्वजनिक सम्पत्तिमा हस्तक्षेप गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने आशिका तामाङलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रहरी वृत्त जगातिमा जाहेरी दिएको नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले बताए। 

नगरपालिकाले आज पत्रकार सम्मेलन गरी वडा नम्बर ९ र १० को सिमानाबाट ओहोरदोहोर गर्नेगरी विगत तीन वर्षदेखि सञ्चालनमा ल्याएको झोलुङ्गे पुल चढेबापत पैसा लिएको भन्दै यही असोज ७ मा तामाङको नेतृत्वमा गएको टोलीले अस्थायी संरचना तोडफोड तथा आगजनी गरेको प्रवक्ता सापकोटाको दाबी छ। 

'युट्युबलाई कमाई खाने भाँडो बनाउने उद्देश्यले आफूलाई स्वघोषित सामाजिक अभियन्ता बताउने आशिका तामाङसहितको छ, सात जनाको टोलीले नगरपालिकाको सम्पत्ति माथि चक्कु, कैँची, पेञ्चिस, घनलगायत घरायसी हतियारको प्रयोग गरी ब्यानर च्यात्ने, टिकट जलाउने र झोलुङ्गे पुलको संरचना तोडफोड गरी भत्काएको छ', सापकोटाले भने, 'त्यो ताण्डव सार्वजनिक सम्पत्तिमाथि गर्न पाइँदैन।'

वास्तविकता र ऐन, कानुन नबुझी जनतालाई भ्रम फैलाएर तोडफोड गर्ने तामाङसहितको टोलीलाई तत्काल पक्राउ गरी कारबाही गर्न नगरपालिकाले प्रहरीमा जाहेरी दिएको उनले बताए। 
    
नगर प्रमुख वासुदेव थापाले वडा नम्बर ९ बाट १० मा प्रवेश गर्ने पुल एकमात्र विकल्पको बाटो होइन, पैदल जान पनि सहज भएको भन्दै त्यो झोलुङ्गे पुल पर्यटन प्रवर्द्धनकै लागि बनाइएकाले शुल्क लिएको बताए। 
    
'हामी नगरपालिकाको पर्यटन प्रवर्द्धनका लागि शिव सर्किट बनाउँदै छौँ, त्यो पुल त्यस क्षेत्रमा पर्यटक भित्र्याउन बनाइएको हो, स्थानीय पर्यटन प्रवर्द्धन गर्ने, चलचित्र, म्युजिक भिडियो, टिकटिकलगायत भिडियो निर्माण गर्ने उद्देश्यले नगरपालिकाले उक्त झोलुङ्गे पुल निर्माण गरी सञ्चालनमा ल्याएका हौँ, उनले भने। 
    
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले नगरपालिकाले कानुनसम्मत शुल्क लिएको दाबी गरे। 

उनले भने, 'संघीय सरकारले बनाएको स्थानीय तह सञ्चालन ऐनमा व्यवस्था गरिए अनुसार पर्यटकीय क्षेत्रको शुल्क लिएका हौँ। पुल ऐच्छिक हो, मन्दिर पुग्न अर्को पुरानो बाटो छ।'

नगरपालिकाले आर्थिक वर्ष २०७९/८० देखि साँगाको उक्त पुलबाट ओहोरदोहोर गर्दा २० रुपैयाँ शुल्क लिने गरी ठेक्कामा लगाएको थियो। नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० मा रु ३४ लाखमा र आव ०८०/०८१ लागि रु ३९ लाखमा ठेक्का लगाएको प्रवक्ता सापकोटाले जानकारी दिए। 

नगर प्रमुख थापाले प्रवेश शुल्कको वास्तविकता के हो भन्ने नबुझी अफबाह फैलाउने प्रायोजित उद्देश्यले आफूखुसी भिडियो बनाइ सामाजिक सञ्जालमा पोस्ट गरिएको भन्दै नगरपालिकाको मङ्गलबार बसेको १७५औँ कार्यपालिकाको बैठकबाट निर्णय गरी जाहेरी दिएको बताए। 

असोज ९, २०८१ बुधबार २०:०४:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।