धनगढीमा एमाले महासचिवले ढाँटे, भने 'अमेरिकामा प्रधानमन्त्री ओलीविरूद्ध कुनै विरोध प्रदर्शन भएको छैन'

धनगढीमा एमाले महासचिवले ढाँटे, भने 'अमेरिकामा प्रधानमन्त्री ओलीविरूद्ध कुनै विरोध प्रदर्शन भएको छैन'

सुदूरपश्चिम : एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला उनीविरूद्ध सामाजिक सञ्जालमार्फत भइरहेका गतिविधि देशहित विपरीत भएको बताएका छन्। 

कैलालीको धनगढीमा आज प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री ओलीविरूद्ध त्यहाँ कुनै प्रकारको विरोध प्रदर्शन नभएको र उनको भ्रमण अत्यन्त सफल ढङ्गले भइरहेको दाबी गरे। 

'प्रधानमन्त्री ओलीसँग संवाद गर्न अमेरिकाको बौद्धिक वर्ग लालायित देखिएको छ, उनले भने। 

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीविरूद्ध कार्यक्रमहरूमै नाराबाजी भइरहेकै छन्। यतिसम्म कि, विरोध हुने सुइँको पाएपछि प्रधानमन्त्री ओलीले न्युयोर्कमा वृहत् अन्तरक्रिया कार्यक्रम स्थगितसमेत भएको थियो। 

तर, न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव र प्रधानमन्त्री ओली तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयुक्त राष्ट्र संघको महासभा, समिट अफ फ्युचर तथा अन्य साइडलाइन मिटिङहरूमा व्यस्त रहनुपरेको दाबी गर्दै बृहत् कार्यक्रम स्थगन गरिएको जनाएको थियो।

फरक प्रसंगमा महासचिव पोखरेलले सहकारी प्रकरणका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि लागेको आरोपको अनुसन्धान रोक्न भइरहेका गतिविधि कानुनी राज्यमाथिको उपहास भएको बताए। 

'सुशासनका कुरा गर्नेले अनुसन्धानको प्रक्रियामा जान नमान्ने कुरा उचित होइन, निःसर्त सहयोग गर्नुपर्छ, उनले भने।  

असोज ८, २०८१ बुधबार १८:४२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।