नेपाल एयरलाइन्सले विराटनगर, पोखरा र नेपालगन्जबाट पनि अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने

नेपाल एयरलाइन्सले विराटनगर, पोखरा र नेपालगन्जबाट पनि अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने

काठमाडौं : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले विराटनगर, पोखरा र नेपालगन्जबाट पनि अन्तर्राष्ट्रिय उडानका टिकट बिक्री गर्ने भएको छ। 

निगमले नजिकिएको दशैं, तिहार तथा छठ पर्वजस्ता चाडपर्वको समयमा यात्रुको सहजताका लागि ती स्थानबाट टिकट बिक्रीको व्यवस्था मिलाएको हो। 

निगमले अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौं बाहिर भैरहवास्थित निगमको कार्यालयबाट मात्र टिकट बिक्री गर्दै आइरहेको थियो।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार चाडपर्वपश्चात् पनि विराटनगर, पोखरा र नेपालगञ्ज कार्यालयबाट टिकट वितरण गर्नेगरी व्यवस्था मिलाउनेछ। उक्त व्यवस्थापनका लागि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सम्बन्धित विभागीय प्रमुखलाई निर्देशन दिएका छन्। 

यात्रुहरूले आफ्नो मोबाइलबाट वा निगमको वेबसाइटबाट अनलाइन टिकट लिन सकिने व्यवस्था रहेकोमा स्थानीय ठाउँबाटसमेत सेवा दिँदा सेवाग्राहीले अझ प्रभावकारी ढङ्गले टिकेटिङको सेवा लिने निगमले जनाएको छ।  

असोज ८, २०८१ बुधबार १८:२४:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।