एनसेल फाउन्डेसनद्वारा बिर्तामोडमा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ

एनसेल फाउन्डेसनद्वारा बिर्तामोडमा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ

काठमाडौं : एनसेल फाउन्डेसनले प्रदेशस्तरमा संचालन भइरहेको आफ्नो सामाजिक उत्तरदायित्त्वका कार्यक्रमहरू अन्तर्गत गत हप्ता झापाको बिर्तामोड नगरपालिका, वडा नम्बर ५ मा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शिविरको आयोजना गरेको छ। 

यस निःशुल्क शिविरमा १२० जना भन्दा बढी स्थानीय महिलाहरूको सहभागिता थियो भने त्यसमध्ये ९० जना भन्दा बढीले निःशुल्क ‘पाप स्मियर टेस्ट’बाट लाभ लिएका थिए। 

नेपाल क्यान्सर फाउन्डेसन र पूर्वाञ्चल अस्पतालसँगको सहकार्यमा एनसेल फाउन्डेसनले आयोजना गरिएको यो पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शिविर एक कोशेढुङ्गा सावित भएको कम्पनीको दाबी छ। 

शिविरमा आएकी स्थानीय शोभा ठाकुरले भनिन्, 'यहाँ पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङको लागि शिविर बस्दै छ भनेर थाहा पाएर साथीहरू पनि लिएर आएँ। आफ्नो स्वास्थ्यको कुरा खुलेर भन्न नसक्दा मेरो सासु ब्रेस्ट क्यान्सर भएको तेस्रो स्टेजमा मात्र थाहा भएकोले बित्नु भयो।'

त्यसैगरी बेलबारी–५, मोरङबाट शिविरमा आएकी टिका गौतम कोइरालाले भनिन्, 'यो जीवन लिने डर लाग्दो रोग रहेछ। यसलाई समयमा नै उपचार गर्यो भने बाँच्न सकिन्छ त्यसैले मौका पाएकीले यहाँ शिविरमा आएकी हुँ। सचेत हुन पाइयो भने यो रोगबाट मुक्त हुन पाइन्छ त्यसैले यो स्क्रिनिङ टेस्ट एकदमै जरुरी छ।'

यो शिविरले महिलाहरूलाई स्वास्थ्य सम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमा नै निवारक स्वास्थ्य सेवाहरू लिनुको महत्वलाई उजागर गर्दै पाठेघरको मुखको क्यान्सरबाट बच्न प्रारम्भिक पहिचान र रोकथामको लागि नियमित स्क्रिनिङ र सम्बन्धित परीक्षणहरू गर्न प्रोत्साहन गरेको छ। एनसेल फाउन्डेसनले कोशी प्रदेशमा ६,००० भन्दा बढी महिलाहरूको स्क्रिनिङ गर्ने लक्ष्य लिएको छ। 

'पाठेघरको मुखको क्यान्सर सबैभन्दा सामान्य र नेपाली महिलाहरूको मृत्युको प्रमुख कारण रहेको तथ्याङ्कले देखाउँछ। ८० प्रतिशत भन्दा बढि पाठेघरको मुखको क्यान्सरका रोगीहरूले अन्तिममा आएर मात्र रोग लागेको थाहा पाउँछन्। कोशी प्रदेशमा सुरू भएको यस पाइलट प्रोजेक्टको सफलता पछि आगामी दिनमा यस किसिमका पहलहरू अन्य प्रदेशमा पनि विस्तार गर्ने छौं' एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड, लक्ष्मी खड्काले भनिन्।

एनसेलले आफ्नो सेवा सञ्चालनको १९औं वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेसनको घोषणा गरेको थियो र फाउन्डेसनले सातै प्रदेशमा विभिन्न सामाजिक विकासका कार्यहरू गर्ने योजना बनाएको छ।  

असोज ८, २०८१ बुधबार १६:२९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।