अदालतले बाटो खोलिदिए पनि निर्वाचन समितिमा मतैक्य भएनन्, मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन फेरि अन्योल

अदालतले बाटो खोलिदिए पनि निर्वाचन समितिमा मतैक्य भएनन्, मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन फेरि अन्योल

सुर्खेत : मध्यपश्चिम विश्वविद्यालयमा भदौ २८ गते निर्वाचन तोकियो। निर्वाचन अधिकृतको कार्यालयले भदौ ५ गते प्रकाशन गरेको अन्तिम नामावलीमा आफूहरूको नाम समावेश नभएपछि बायोलोजी समुह पाँचौं सेमेस्टरका विद्यार्थीहरूले भदौ २६ गते विश्वविद्यालयको कार्यकारी परिषद्लाई विपक्षी बनाइ रिट दायर गरे।

भदौ २७ गते उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोख्रेलको एकल इजलासले निर्वाचन रोक्न अल्पकालीन अन्तरिम आदेश दियो। अदालतले कार्यकारी परिषद्का नाममा कारण देखाऊ आदेश समेत जारी गर्यो।

असोज ६ गते दुवै पक्षलाई बोलाएर दिन न्यायाधीश लोहित चन्द्र शाह र माधव धितालको संयुक्त इजलासले स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन विरुद्ध परेको रिटमा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहन नपर्ने आदेश दियो। रिट निवेदकहरूलाई कात्तिक २ गते पेसीका लागि अदालतले बोलाएको छ।

उच्च अदालत सुर्खेतको आदेशमा ‘साउन ३२ मा मतदाताको प्रथम नामावली प्रकाशन गरेको र भदौ ५ मा मतदाता नामावली उपर दावी विरोधको छानविन गरी अन्तिम नामावली प्रकाशन गर्ने भन्ने रहेकोले रिट निवेदकहरूले तोकिएको समयमा दावी विरोध नदिएकोले भदौ २७ मा दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु परेन। कानून बमोजिम गर्नु।’ भन्दै उक्त रिट खारेज गरेको थियो।

उक्त आदेशसँगै अब विश्वविद्यालयको निर्वाचन समितिलाई निर्वाचन गर्नका लागि बाटो खुलेको छ। तर, समितिभित्र नै फरक धारणा देखिएपछि निर्वाचनको प्रक्रिया अगाडि बढाउन नसकिएको निर्वाचन समितिका संयोजक वीरबहादुर पौडेलले बताए।

‘अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएन। कानून बमोजिम गर्नु भनेको छ। हामी निर्वाचन समितिमा मेरो संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति छ। मैले असोज १६ गते अगाडि निर्वाचन गरौँ भनेँ। तर, अन्य दुई जना साथीहरूले त्यसमा समर्थन गरेनन्,’ संयोजक पौडेलले भने, ‘अन्य दुई जना साथीहरूले १६ गते नै नगरौँ। यथासिघ्र उपयुक्त समय मिलाएर निर्वाचन गर्न कार्यकारी परिषदलाई सिफारिस गरौँ भनेपछि काम अगाडि बढ्न सकेको छैन।’

निर्वाचन समितिको सदस्यमा वेदप्रकाश ढकाल र प्रकाश आचार्य सदस्य रहेका छन्। स्वतन्त्र विद्यार्थी युनियनको सभापतिका लागि विभिन्न दलसँग आबद्ध विद्यार्थी संगठन र स्वतन्त्रसहित सात जनाको उम्मेदवारी परेको थियो।

मध्यपश्चिम विश्वविद्यालयमा पहिलो स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०७३ भदौ ८ गते भएको थियो। ०७६ सालमा तत्कालीन पदाधिकारीहरूको पदावधि सकिएपछि विश्वविद्यालय स्ववियुविहीन बनेको छ।

बेला-बेला निर्वाचनको चर्चा चले पनि त्यसले पूर्णता पाउन सकेको थिएन। तीन वर्षपछि ०७९ चैत ५ गते विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तालिका तोकिएपनि अन्तिममा आएर मुसुमका विद्यार्थीले आफूहरू मतदानमा सहभागी हुन पाउनुपर्ने मागसहित अदालतमा रिट दायर गरेपछि निर्वाचन प्रक्रिया स्थगित भएको थियो।

विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसमा निर्वाचन ०७९ चैतमा नै निर्वाचन भइसकेको छ। मध्यपश्चिम विश्वविद्यालयमा तीन हजार ३ सय ८९ जना विद्यार्थी रहेका छन्।

नेवि संघले केन्द्रीय कार्यालयमा ताला लगायो
नेपाल विद्यार्थी युनियनले मंगलबारदेखि विश्वविद्यालयको कुइनेपानी स्थित केन्द्रीय कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ।

विश्वविद्यालय प्रशासन र निर्वाचन समिति तत्काल चुनाव गराउनुको साटो विद्यार्थी आन्दोलनलाई कुल्चने चेस्टा गरेमा थप बान्दोलनका कार्यक्रम घोषणा गर्ने समेत चेतावनी नेवि संघले दिएको छ।

नेवि संघले यही असोज १६ गतेभित्र निर्वाचनको मिति घोषणा नगरुजेल अनिश्चितकालीन तालाबन्दी गरेर आन्दोलनका कार्यक्रमहरू गर्ने विज्ञप्ति मार्फत जनाएको छ।

असोज ८, २०८१ बुधबार १३:०६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।