इरानले मलाई मार्न चाहिरहेको छ : डोनाल्ड ट्रम्प

इरानले मलाई मार्न चाहिरहेको छ : डोनाल्ड ट्रम्प

एजेन्सी : अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफूलाई मार्न चाहेको खुलासा गरेका छन्।

सामाजिक सञ्जाल एक्समा एक पोस्ट लेख्दै उनले यस्तो खुलासा गरेका हुन्। इरान पहिलो प्रयासमा सफल नभएको भन्दै ट्रम्पले पुन: यस्तै प्रयास गर्नसक्ने बताए।

ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो ज्यानलाई इरानबाट ठूलो खतरा छ। सम्पूर्ण अमेरिकी सेना हेर्दै र पर्खिरहेको छ। इरानले प्रयास गरेको थियो तर असफल भयो। तर उसले फेरि प्रयास गर्नेछ। यो अवस्था कसैको लागि राम्रो होइन। म धेरै मानिसहरू, बन्दुक र हतियारहरूले घेरिएको छु। म पहिले यो भन्दा धेरै मानिसहरूले घेरिएको थिइनँ’

उनले अगाडि लेखेका छन्, ‘मेरो सुरक्षाका लागि थप रकम विनियोजन गरेकोमा संसदलाई धन्यवाद। रिपब्लिकन र डेमोक्र्याटिक सांसदहरू यस मुद्दामा एकजुट भएको देख्दा राम्रो लाग्यो। तर, पूर्वराष्ट्रपतिमाथि हमला भयो भने त्यो आक्रमणकारीलाई मृत्यु निम्तो दिनुजस्तै हो।’

अमेरिकी राष्ट्रपति चुनावअघि ट्रम्पको यस्तो भनाइलाई कतिपयले प्रचार शैलीसमेत बताइरहेका छन्। तर, ट्रम्पको यो भनाइपछि अमेरिकी राष्ट्रपतिको सुरक्षालाई लिएर बहस सुरु भएको छ।

अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ। रिपब्लिकन उम्मेदवार ट्रम्पले डेमोक्रेटिक पार्टीकी कमला ह्यारिससँग प्रतिस्पर्धा गरिरहेका छन्।

असोज ८, २०८१ बुधबार १२:१४:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।