दशैंमा नयाँ नोट नछाप्नुको अन्तर्य
काठमाडौं : वर्षेनी दशैं, तिहारमा नयाँ नोट छाप्दै आएको नेपाल राष्ट्र बैंकले यस वर्ष भने नयाँ नोट वितरण नगर्ने भएको छ। त्यसको साटो केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा मौज्दात भएका सुकिला नोट असोज १३ गतेदेखि वितरण गर्ने निर्णय गर्यो।
राष्ट्र बैंकले नयाँ नोटको साटो सुकिला नोट वितरण गर्ने निर्णय गरेसँगै यसबारे सकारात्मक र नकारात्मक पक्षबीच बहस जारी छ। केहीले यसलाई अर्थतन्त्र सुधारको रूपमा चित्रण गरेका छन् भने कतिपयले भारतसँग डराएको रूपमा अर्थ्याएका छन्।
अर्थशास्त्रका उप-प्राध्यापक दिपेशमूर्ति पन्त अर्थतन्त्रलाई प्रविधिमैत्री बनाउनका लाग नोट नछाप्न लागेको भए सकरात्मक रुपमा लिनुपर्ने बताउँछन्।
‘डिजिटल तथा साख मुद्राले नै मुद्राको आपूर्ति गरिरहेको अवस्थामा नयाँ मुद्रा निष्कासन देशको अर्थतन्त्रलाई घातक हुन्छ। यसले एकातिर मुद्रा निष्कासन खर्च बढ्छ भने मुद्राको आपूर्तिमा गरिएको अनावश्यक आपूर्तिले मुद्राको क्रय शक्तिमा नकारात्मक असर पर्छ’, उनले भने।
देश बलियो हुँदै जाँदा भौतिक मुद्राको प्रयोग घट्दै जाने भन्दै उनले भौतिक मुद्राको प्रयोग न्यूनीकरण नै उचित हुने बताए।
‘मानिसहरू देश डुबेर दशैमा नयाँ मुद्रा निष्कासन गर्न सकेन भन्दैछन्। नयाँ मुद्रा निष्कासन नगर्नु चाहिँ बरु देश बलियो भएको हो भन्दा हुन्छ। अब साख मुद्रा तथा डिजिटल मुद्राको प्रयोग मितव्ययी तथा सुरक्षित हुने कारणले भौतिक मुद्राको प्रयोग न्यूनीकरण गर्नु नै उपयुक्त हुन्छ’, उनले थपे।
अर्कातर्फ सामजिक सञ्जालको एक तप्का भने यसलाई भारतसँगको भयको रूपमा समेत अर्थ्याएको छ। एक सय रुपैयाँको नोटमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश नेपालको नक्सा छाप्ने निर्णय भइसकेको सन्दर्भमा तत्काल छाप्दा भारतबाट अनावश्यक दबाब बढ्ने देखिएपछि अहिलेलाई पछि हटिएको त्यो समूहको तर्क छ।
तर, राष्ट्र बैंकका प्रवक्त रामु पौडेलले भने त्यसलाई नकार्दै बजारमा सुकिलो नोट पर्याप्त मात्रामा भएकोले त्यसैलाई पुनः प्रयोग गर्न लागेको बताए।
उनले उकेरासँग भने, ‘नयाँ नोट वितरण गर्ने तर बैंक तथा वित्तीय संस्थामा अहिले बजारको माग धान्न पर्याप्त सुकिला नोट भएकोले सोही वितरण गर्ने निर्णय भएको हो।’
केन्द्रीय बैंकले अन्तराष्ट्रिय बोलपत्र आह्रान गरी सुरक्षण मुद्रण कम्पनी छनोट गरेर नोट छपाइ गर्दै आएको छ। नेपालमा उपलब्ध सात प्रकारका नोटहरू इन्डोनेसिया र चीनमा छपाइ भएर आउने गर्छ। चीनमा ५० र १०० रुपैयाँका बाहेकका अन्य नेपाली नोट छपाइ हुन्छ।
नेपाल राष्ट्र बैंकले पहिला नेपाली १ र २ रुपैयाँको सिक्का छाप्ने गरेको भए पनि लागत मूल्य बढी परेपछि बन्द गरेको थियो। यद्यपि चाडपर्वको अवसरमा स्टिल, पित्तल, सुन, चाँदीका असर्फीहरू भने अझै छाप्ने गरेको छ।
दशैंमा नयाँ नोट नसाटे पनि केन्द्रीय बैंकले बजारको माग र आवश्यकता अनुसार नोटको छपाइ गर्ने र बजारमा पठाउने काम गरिरहन्छ। हरेक वर्ष नयाँ नोट बजारमा पठाउनु र पुरानो भएर झुत्रिएका, मैलो भएका र पुनः प्रयोग गर्न नमिल्ने अवस्थाका नोटहरू बजारबाट उठाएर नष्ट गर्नु केन्द्रीय बैंकको नियमित प्रक्रिया हो।
मुद्रास्फीतिको दर, बजेटको आकार, विनिमय दरको अवस्था, विप्रेषणको प्रवाह, भुक्तानी सन्तुलन, नोटको मौज्दात लगायतका मापदण्डलाई हेरेर केन्द्रीय बैंकले नोटको छपाइ गर्छ।
‘डिजिटललाई पनि प्रोत्साहन गरेका हौँ’
राष्ट्र बैंकले आफ्नै नियन्त्रणमा २०७८ अघि नै डिजिटल करेन्सीको ल्याउने चर्चा चलेको थियो तर अहिलेसम्म आउन सकेको छैन। यद्यपि २०८३ सम्ममा नेपालकै डिजिटल करेन्सी ल्याउने बताउँदै आएको छ। सोही कामको लागि राष्ट्र बैंकले डिजिटल करेन्सीको कन्सेप्ट पेपर तयार गरिरहेको छ।
त्यस्तै, राष्ट्र बैंकका सूचना अधिकारी डा. डिल्लीराम पोखरेलका अनुसार डिजिटल कारोबारतर्फ प्रोरित गर्नकै लागि नयाँ नोट छपाइमा नपठाइएको हो।
उनले भने, ‘अहिले हामीसँग दुई वर्षभन्दा बढीलाई पुग्ने सुकिला नोटहरूको मौज्दात छ। त्यसलाई पनि प्रयोग गर्ने र नोट छपाइको खर्च पनि घटाउने हाम्रो उदेश्य अनुसार तत्काल नयाँ नोट नछाप्ने निर्णय गरेको हो। अब डिजिटलाइजेसनमा पनि जाने कुरा हो। नोट नै बाँडेर डिजिटलाइज त हुँदैन, त्यसलाई बन्दै गर्नैपर्छ।’
त्यस्तै, भौतिक नोट छपाइदेखि बीमा, ढुवानी, सुरक्षा व्यवस्था, मुद्रा ठाउँमा पुर्याउन लाग्ने खर्च बढेकोले पनि यस्तो खर्च खटाउन डिजिटल मुद्रा आवश्यक रहेको निष्कर्ष केन्द्रीय बैंकले २०२२ अगस्टमा सार्वजनिक भएको ‘सेन्ट्रल बैंक डिजिटल करेन्सी (सिबीडीसी) सम्बन्धी एक रिर्पाेटले निकालेको थियो।
यसरी मुद्रा छपाइदेखि व्यवस्थापनमै राज्यको एक अर्ब ३३ करोड खर्च हुने भएकोले पनि सुकिलो नोट दिने निर्णय गरेको डा. पोखरेल बताउँछन्।
‘१ अर्ब ३३ करोड भन्दा बढी नोट छपाइको खर्च लागेको छ। यसलाई कम गर्न र भएको सुकिलो नोटलाई प्रयोग गर्न नै यो निर्णय गरेको हो’, उनले भने।
असोज ९, २०८१ बुधबार ११:३३:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।