रविको बचाउमा उत्रिएका रास्वपा कार्यकर्ताप्रति सहकारी पीडितको टिप्पणी- पीडितको उपहास गरेको देख्दा दया लाग्यो

रविको बचाउमा उत्रिएका रास्वपा कार्यकर्ताप्रति सहकारी पीडितको टिप्पणी- पीडितको उपहास गरेको देख्दा दया लाग्यो

काठमाडौं : पोखराको सूर्यदर्शन सहकारी ठगीबाट पीडित बचतकर्ताहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको बचाउमा उत्रिएका कार्यकर्ताहरूमाथि प्रश्न गरेका छन्।

सहकारी ठगीबाट पीडित उनीहरूको संघर्ष समितिले असोज सात गते पोखरामा गेको प्रदर्शनप्रति आपत्ति जनाउँदै उनीहरूलाई सहकारी पीडितको मर्का बुझ्न आग्रह गरेका हुन्। सहकारी पीडितको विरुद्धमा सिंगो पार्टी नै लागेको र बचत रकमको सुनिश्चितताको विरुद्ध प्रदर्शन गर्दा अचम्मकमा परेको समितिले जनाएको छ।

‘वास्तविक सहकारी पीडितको पहिचानमाथि नै प्रश्न चिन्ह खडा हुने किसिमको अभिव्यक्ति र नाराको साथ सामाजिक सञ्जालमा पनि विभिन्न झुटा लान्छाना यिनै पार्टीका मुख्य व्यक्ति तथा कार्यकर्ताले निरन्तर लगाइराखेका छन्,’ उनीहरूले विज्ञप्तिमार्फत भनेका छन्, ‘तर यस्ता झुटा लाल्छनाले सहकारी पीडितलाई कत्ति पनि फरक पर्दैन।’

उनीहरूले पीडितको पक्षमा बोल्नुपर्ने नयाँ पार्टीले पीडितको उपहार गर्दै हिँडेकोमा लाज लागेको समेत बताएको छ।

‘एक पीडितको रकम फिर्ता होस भन्ने कुरामा तपाईं र तपाईंको पार्टी सहमत छ? हामी सहकारी पीडितका जीवनयापनमा के समस्या छ भन्नेकुरा र कति समस्या छ भन्नेकुरा आजसम्म कसैले चिहाएर हेर्ने प्रयास गरेको छ? आज एउटा उदयमान राजनितिक पार्टी देशको विकास, जनताको न्याय र शुसासनको पक्ष काम गर्नु र बोल्नुपर्ने बेलामा सहकारी पीडितको उपहास गर्दै हिँडेको देख्दा यो पीडामा पनि लाज लागेर आएको छ। हामी एक आपसमा एउटै देश र एउटै गाउँशहरका नागरिक होइनौँ र? साच्चिकै सहकारी पीडितप्रति यो राज्य सरकार र यी मानिसमा दया, माया र धर्म नभएकै हो त?’, उनीहरूले प्रश्न गरेका छन्।

आफूहरूमाथि सामाजिक सञ्जालमा पनि आक्रमण भइरहेको भन्दै संघर्ष समितिले बचतको सुनिश्चितता र फिर्ता नभएसम्म संघर्ष निरन्तर जारी रहने समेत जानकारी गराएको छ। साथै समितिले कुनै पनि पार्टीको नाटकीय बचाउ अभियान र अनौपचारिक कार्यक्रमको पछि नलाग्न समेत सर्वसाधारणलाई आग्रह गरेका छन्।


 

असोज ८, २०८१ बुधबार ११:१०:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।