श्रीलंकामा तीन सिट जितेको पार्टीबाट प्रधानमन्त्री नियुक्त, मन्त्रिपरिषद्‍मा राष्ट्रपतिसहित चार जना मात्र

श्रीलंकामा तीन सिट जितेको पार्टीबाट प्रधानमन्त्री नियुक्त,  मन्त्रिपरिषद्‍मा राष्ट्रपतिसहित चार जना मात्र

काठमाडौं : श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले हरिणी अमरसूर्यालाई देशको प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। मंगलबार साँझ नै उनले अमरसूर्यालाई प्रधानमन्त्रीका रूपमा सपथ समेत गराए।

राष्ट्रपति अनुराले प्रधानमन्त्री अमरसूर्यालाई न्याय, शिक्षा, स्वास्थ्य र लगानीजस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएका छन्।

यसबाहेक विजिता हर्थ र लक्ष्मण निपुणरच्चीले पनि क्याबिनेट मन्त्रीको सपथ लिएका छन्।

श्रीलंकाको मन्त्रिपरिषद्मा राष्ट्रपति र प्रधानमन्त्रीसहित जम्मा ४ जना सदस्य हुन्छन्। यो श्रीलंकाको इतिहासमा सबैभन्दा सानो क्याबिनेट हो।

हरिनी श्रीलंकाको प्रधानमन्त्री हुने तेस्रो महिला हुन्। उनीअघि सिरिमाभो बन्दरनायके (३ पटक) र चन्द्रिका कुमारतुंगा (१ पटक) देशका महिला प्रधानमन्त्री भइसकेका छन्।

सन् २०२० मा हरिणी अमरसूर्या पहिलो पटक सांसद बनेकी थिइन्।

यसैबीच राष्ट्रपति दिसानायकेले मंगलबार राति संसद विघटन गर्दै आगामी नोभेम्बर १४ मा संसदीय निर्वाचनको घोषणा गरेका छन्।

राष्ट्रपति निर्वाचनअघि दिसानायकेले तत्काल संसद विघटन गरी मध्यावधि निर्वाचन गराउने बताएका थिए। त्यही प्रतिबद्धता पूरा गर्दै उनले मंगलबार संसद विघटन गरेका हुन्।

अगस्ट २०२० मा शुरू भएको संसद् तोकिएको समयभन्दा ११ महिना अगाडि विघटन भएको हो। यसबीचमा श्रीलंका चरम आर्थिक संकटबाट गुज्रिएको थियो।

सन् २०२० मा भएको संसदीय निर्वाचनमा प्रधानमन्त्री अमरसूर्या (५४) र राष्ट्रपति अनुरा दुवै राष्ट्रिय जनशक्ति (एनपीपी)का सांसद थिए। श्रीलंकाको २२५ सिट भएको संसदमा सन् २०२० मा भएको संसदीय निर्वाचनमा एनपीपीले मात्र तीन सिट जितेको थियो।

असोज ८, २०८१ बुधबार ०८:४२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।