भारत-इंग्ल्याण्ड लर्ड्स टेस्टका लागि न्यूनतम टिकट मूल्य १३ हजार ४ सय, एमसीसीको आलोचना

भारत-इंग्ल्याण्ड लर्ड्स टेस्टका लागि न्यूनतम टिकट मूल्य १३ हजार ४ सय, एमसीसीको आलोचना

एजेन्सी : इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले भारतविरुद्ध अर्को वर्ष हुने लर्ड्स टेस्टको पहिलो तीन दिनका लागि न्यूनतम टिकट मूल्य ९० युरो (लगभग १३ हजार ४०० रुपैयाँ) तोकेपछि त्यसको चर्को आलोचना भएको छ।

मुख्य स्ट्यान्डहरूको टिकटको मूल्य १२० देखि १७५ युरो (१७ हजार ९०० देखि २६ हजार रुपैयाँ) सम्म तोकिएको छ। यसको भारतीय क्रिकेट समर्थहरूले चर्को आलोचना गरेका छन्।

यसअघि भएको टेस्टमा पनि टिकट मूल्यकै कारण स्ट्यान्ड खाली भएको भन्दै उनीहरूले मूल्य घटाउना समेत दबाब दिएका छन्।

यस वर्ष श्रीलंकाविरुद्धको लर्ड्स टेस्टमा पनि केही ठूला स्ट्यान्डको टिकट मूल्य ११५ यूरोदेखि १४० यूरो (१७ हजार २९९ देखि २० हजार ९०० रुपैयाँ)सम्म तोकिएको कारण धेरै स्ट्यान्डहरू खाली भएको आलोचकहरू बताउँछन्।

चौथो दिनको खेल हेर्न नौ हजार टिकट मात्रै बिक्री भएको थियो, जुन स्टेडियमको क्षमताको एक तिहाइभन्दा कम हो।

एमसीसीका प्रमुख कार्यकारी र सचिव गाइ लभेन्डरले चौथो दिन टिकट मूल्य निर्धारण नीतिको पुन: मूल्याङ्कन गर्ने बताए।

भारत विरुद्धको खेलको चौथो दिनको लागि ९० युरो (१३ हजार ४०० रुपैयाँ) देखि १५० युरो (२२ हजार ३५० रुपैयाँ) सम्मको टिकटको व्यवस्था हुनेछ ।

एमसीसीले अंग्रेजी टेस्ट क्यालेन्डरमा अष्ट्रेलियापछि भारत दोस्रो ठूलो भ्रमण गर्ने टोली भएको भन्दै टिकटको मूल्य उच्च रहने बताएको थियो।

लर्ड्समा हुने विश्व टेस्ट च्याम्पियनसिप फाइनल २०२५ को टिकटको मूल्य पनि ७० युरो (१० हजार ५०० रुपैयाँ) देखि १३० यूरो (१९ हजार ३६० रुपैयाँ) तोकिएको छ।

यससँगै सन् २०२५ मा इंग्ल्याण्ड र भारतको महिला टोलीबीच हुने एकदिवसीय खेलको टिकट पनि २५ युरो (तीन हजार ७२५ रुपैयाँ) देखि ४५ यूरो (६ हजार ७०० रुपैयाँ) तोकिएको छ, जुन लर्ड्समा मात्र खेलिनेछ।

असोज ८, २०८१ बुधबार ०८:१२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।