वर्षा बाधक बन्दा नेपाल र ओमान अंक बाँडे

वर्षा बाधक बन्दा नेपाल र ओमान अंक बाँडे

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ।

क्यानडाको ओन्टारियोस्थित किंग सिटी मैदानमा खेल नेपाली समयअनुसार ८:४५ बजेदेखि शुरू हुनुपर्ने थियो । तर, वर्षाका कारण मैदान खेल्नयोग्य नबन्दा खेल रद्द भयो। त्यसपछि दुवै टोलीले एक-एक अंक बाँडे।

नेपाल यसअघिका तीनै खेलमा पराजित भएको थियो। नेपालले पहिलो खेलमा क्यानडासँग १०३ रनको हार बेहोरेको थियो।

दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भएको थियो । नेपालले तेस्रो खेलमा पुनः क्यानडासँग पाँच विकेटको हार बेहोरेको थियो।

लिग-२ मा सात खेल खेलेको नेपालले हालसम्म एकमात्र जित निकालेको छ। नेपालले यो प्रतियोगिताको पछिल्ला पाँच खेलमा लगातार हार बेहोरेको थियो।

नेपाल अंक तालिकाको सातौं स्थानमा छ। नेपालको तीन अंक मात्र छ । छैटौं स्थानको ओमानले सात खेलबाट ६ अंक जोडेको छ।

ओमानले आफ्नो पहिलो खेलमा नेपाललाई एक विकेटले हराएको थियो। दोस्रो खेलमा ओमान घरेलु टिम क्यानडासँग ५० रनले पराजित भएको थियो।

असोज ८, २०८१ बुधबार ०७:२२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।