प्रश्न उठेपछि अनुसन्धानमा तयार हुने 'पुराना' खाण र रायमाझी, पक्राउ पर्ने भयले प्रतिवादमा उत्रिन लगाउने 'नयाँ' रवि

प्रश्न उठेपछि अनुसन्धानमा तयार हुने 'पुराना' खाण र रायमाझी, पक्राउ पर्ने भयले प्रतिवादमा उत्रिन लगाउने 'नयाँ' रवि

काठमाडौं : प्रसङ्ग १, २०८० वैशाख २७ को बिहानै नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण उनकै निवासबाट पक्राउ परे। त्यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका अभियुक्तहरूले बयानका क्रममा खाणको पनि नाम लिएपछि अनुसन्धानका लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।  

त्यसबेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री थिए भने नेपाली कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्का उपप्रधान तथा रक्षा मन्त्री थिए। तर, कांग्रेसले आफैं सरकारमा रहँदा पनि पार्टीका 'प्रभावशाली' नेता खाण पक्राउ पर्दा न कुनै विरोध जुलुस निकाल्यो न त सरकारको आलोचना नै गर्यो। 

अझ कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले त खाण पक्राउ परेको विषयलाई लिएर समर्थन नै गर्यो। सभापति शेरबहादुर देउवानिकट मानिने नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति निकालेर भनेका थिए, 'दोषी नछुटुन्, निर्दाेष नफसुन् भन्ने प्राकृतिक न्यायको सिद्धान्त हो। यसप्रति हाम्रो बलियो विश्वास छ। अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सहितको सरकारले अघि बढाएको अनुसन्धान प्रक्रियाले आशाको सञ्चार छ।'

देउवा पक्षकै प्रकाशशरण महत, कृष्णप्रसाद सिटौला लगायतका नेताहरूले निष्पक्ष छानबिन गर्न सरकारलाई आग्रह गरे तर, आफ्नै नेता पक्राउबारे कुनै विरोध गरेनन्। 

यता, खाण पक्राउ परेकै दिन बसेको पार्टी पदाधिकारीहरुको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाणलाई पार्टीले केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने माग गरेका थिए। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीले अनुसन्धानमा सहयोग गर्न खाणलाई निलम्बन गरेर अनुसन्धान प्रक्रियामा सहयोग गर्नुपर्ने उनीहरू लगायतका नेताहरूको तर्क थियो। तर, देउवाले तत्काल निर्णय भने लिएनन्। 

किनभने भुटानी शरणार्थी प्रकरणमा खाणअघि पक्राउ परेकामध्ये उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेसँग जोडिएको पाइएपछि उनी अनुसन्धानको घेरामा तानिएका थिए। खाणपत्नी मञ्जुलाई ६ करोड रूपैयाँ बुझाएको अडियोसमेत बाहिरिएको थियो। 

तरपनि अनुसन्धानलाई सहयोग गर्ने भन्दै खाणले त्यसबेला भनेका थिए, 'म संलग्न छैन।'

प्रसङ्ग २, २०८० वैशाख ३१ मा नक्कली भुटानी शरणार्थी प्रकरणमै फरार पूर्वउपप्रधानमन्त्री तथा तत्कालीन एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ परे। 

रायमाझी पक्राउ परेको अघिल्लो दिन एमालेले उनलाई प्रहरीसमक्ष उपस्थित भएर अनुसन्धानलाई सघाउन निर्देशन दिएको दाबी गरेको थियो।

पक्राउ परेपछि भने एमालेका महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर पार्टीका केन्द्रीय सचिव रायमाझीलाई यससम्बन्धी अनुसन्धान र कानुनी कारबाही प्रक्रियाको अन्तिम टुङ्गो नलागेसम्म पदबाट निलम्बन गरेको बताइएको थियो। 

त्यसबेला रायमाझीले ठगी गर्ने गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको आरोपका आधारमा पक्राउ गरिएको थियो। उनको सहयोगमा नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने गिरोहले गृहमन्त्रालयसम्म पनि बलियो पहुँच बनाएको प्रहरीको दाबी थियो। 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ परेकाहरूले रायमाझी संलग्न रहेको बयान दिएपछि प्रहरीको आग्रहमा जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएपछि पनि रायमाझीले आफू राज्यको अनुसन्धानलाई सघाउन तयार भएको बताएका थिए। 

रायमाझी पक्राउ परेपछि प्रहरीले भ्यान हुल्न खोज्दैगर्दा हात उठाएर मुसुक्क हाँसेको तस्बिरको आजसम्म पनि चर्चा हुने गरेको छ। 

अनुसन्धानमा सहयोग गर्नै नचाहने पूर्व गृहमन्त्री रवि 
सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिले व्यक्तिगत रूपमा सहकारीको रकम अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता नभए पनि गोर्खा मिडिया प्रालिको प्रबन्ध निर्देशकको रूपमा भने संलग्न रहेको भन्दै कारबाही गर्न सिफारिससहितको प्रतिवेदन बुझायो।

मन्त्रिपरिषद् बैठक बसेर प्रतिवेदन कार्यान्वयन गर्न चार मन्त्रालयमा प्रतिवेदन पठाएपछि आइतबार गृह मन्त्रालयले प्रहरीलाई प्रतिवेदनले अनुसन्धान गर्न सिफारिस गरेकाहरूलाई पक्राउ गर्न निर्देशन दिए लगत्तै गोर्खा मिडिया प्रालीका सञ्चालक छविलाल जोशी पक्राउ परे।

प्रतिवेदनमा जोशीसँगै गोर्खा मिडियाका अध्यक्ष जीवी राई र रविमाथिसमेत छानबिन र कारबाहीको सिफारिस छ। जीवी फरार छन्। छविलाल पक्राउ परेसँगै आफू पनि पक्राउ पर्न सक्ने जोखिम देखेर पक्राउ पर्ने भयले रविले ह्वाट्सएपबाट निर्देशन जारी गरेर पार्टी नेता तथा कार्यकर्ताहरूलाई पार्टी कार्यालयमा भेला पारे। 

अनि सहकारीको रकम अपचलनमा आफू संलग्न नरहेको तर सरकारले षड्यन्त्र गरिरहेको भन्दै आफ्नो बचाउको प्रयास गरे।

विभिन्न सहकारीको ६० करोड बढी रकम अवैध रूपमा गोर्खा मिडियामा ल्याएर खर्च गरेकोबारे संसदीय छानबिन समितिले प्रतिवेदनमै नाम किटे पनि उनले आइतबार पनि संसदीय समितिले छानबिन गरेर सफाइ दिएको तर सरकार नयाँ दलसँग डराएर षड्यन्त्रमा लागेको दाबी गरिरहे।

संसदीय समितिको प्रतिवेदनको आधारमा मिडियामा समाचार बनिरहेको छ। तर उनले त्यसलाई पनि हेडलाइन बनाएर ट्रायल गरेको भन्दै मिडियाको आलोचना गरे।

प्रधानमन्त्री केपी ओलीदेखि प्रहरी महानिरिक्षकसम्मले आफू सहकारीको रकम अपचलनमा संलग्न नरहेको बताइसक्दा पनि षड्यन्त्र भइरहेको भन्दै उनले के नयाँ तथ्य आयो र पक्राउको तयारी गरेको भन्दै प्रश्न समेत गरेका थिए।

उनले सम्बोधनमा पटक पटक अनुसन्धानमा आफू सहयोग गर्न तयार रहेको पनि बताए अर्कोतिर आफूलाई जुनसुकै बेलामा धरपकड गरेर पक्राउ गर्न सक्ने भनेर भय पनि देखाए।

‘सबैलाई हेक्का रहोस्, दुई तिहाइको यो सरकारलाई हेक्का रहोस् रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको हैन’ उनले भने।

यतिबेला बोलीले पटकपटक सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमा सहयोग गर्ने भनेपनि व्यबहारमा ठ्याक्कै उल्टो देखाएका छन् रविले। मुलुकको दुई पटकसम्म गृहमन्त्री भइसकेका रविले प्रहरीले अनुसन्धानमा सहयोग गरेको देखिँदैन। 

पटकपटक ठूला दलका नेताहरूले सुशासनको धज्जी उडाएको भन्ने रविले आफैंले भने पार्टीलाई उपयोग गरेर आफ्ना आफूलाई पक्राउ नगर्न भन्दै 'निलो क्रान्ति'को धम्की दिन लगाए। 

यता, राप्रपा सांसद गीतादेवी बस्नेतविरुद्व पक्राउ पुर्जी जारी भएको छ। संयोगले गत वैशाख १४ मा उनीविरुद्ध पक्राउ पुर्जी जारीहुँदा गृहमन्त्री लामिछाने नै थिए। 

राप्रपा सांसद गीतादेवी बस्नेत र रविमाथि लागेको आरोप उस्तै-उस्तै छ। तर, राप्रपाले वैशाख २० मा विज्ञप्ति जारी गर्दै सरकारको जिम्मेवार निकायबाट निष्पक्ष छानबिन गर्न र सहकारीको रकम अपचलनसम्बन्धी त्यस्तै प्रकारका घटनामा संलग्न अन्य व्यक्तिहरूमाथि पनि छानबिन गर्न माग गरेको थियो। 

कार्यकर्तालाई प्रतिवादमा उत्रिन लगाउने रवि 
आज साँझ फेसबुक लाइभ्मा आएर रविले पुरानै कुरा दोहोर्याए। आफू संसदीय छानबिन समितिले गरेको सिफारिस कार्यान्वयनका लागि तयार रहेको बताएका उनले आफू ग्यालेक्सी टेलिभिजनमा रहँदा भएको 'आर्थिक अपचलन'को जिम्मेवारी लिन तयार रहेको भने। तर, षड्यन्त्र गरे प्रतिवाद गर्ने उनको चेतावनी छ। 

उनले आफूलाई सुनियोजितरूपमा फसाउन खोजे प्रतिवाद गर्न कार्यकर्ताहरूलाई आह्वान नै गरे।

'अदालतले, प्रतिवेदनले, सभापतिले, विभिन्न जिल्लाका प्रहरीले, महान्यायाधिवक्ताले, प्रधानमन्त्रीले, पूर्वप्रधानमन्त्रीले स्पष्ट र लेखेर भनिसकेपछि पनि मलाई संगठित अपराधमा भोलि राजनीति नै गर्न नसक्ने मान्छे पो बनाउन सकिन्छ कि भन्ने ढंगले छड्के आँखा, त्यस्तो किसिमको गलत क्रियाकलाप, त्यस्तो किसिमको गलत षड्यन्त्र गर्न खोजिएको खण्डमा म देशैभरिका साथीहरूलाई अलर्ट रहन अपिल गर्न चाहन्छु,' उनले भने।

आफ्नो समर्थनमा भेला भएकाहरूलाई भिडको संज्ञा नदिन आग्रह गर्दै उनले थपे, 'भिड होइन, शुभचिन्तकहरु हुन्। अन्याय पर्दा जनताले बोल्छन्। मैले अपिल गरेको होइन, उहाँहरूले स्तस्फुर्त समर्थन गर्नुभएको हो।'

आफू अन्यायमा परेका बेला विगतमा नागरिकस्तरबाट साथ पाएको बताउँदै उनले अब पनि आवश्यक परे साथ दिन आग्रह गरे।

'मेरो न्यायका लागि मात्र होइन, सहकारीको पीडितको रकम फिर्ता गराउने विषयमा पनि तपाईं अलर्ट रहनुहोला। व्यक्तिगतरूपमा मेरा लागि केही पनि गर्नुपर्ने आवश्यकता छैन। सरकारले अन्याय गर्यो भने चाहिँ दसैँ, तिहार, छठ जेसुकै भए पनि अन्यायको विरुद्धमा उठ्नुहोला, रविका लागि होइन, उनले भनेका छन्।  

असोज ७, २०८१ मंगलबार २१:१८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।