महान्यायाधिवक्ता बडालको निर्देशन : सहकारी ठगीको रकम फिर्ता गरे आरोपीमाथि मुद्दा नचलाउने

महान्यायाधिवक्ता बडालको निर्देशन : सहकारी ठगीको रकम फिर्ता गरे आरोपीमाथि मुद्दा नचलाउने

काठमाडौं : सरकारका महान्यायाधिवक्ता रमेश बडालले मुलुकी फौजदारी कार्यविधि संहितामा पाँच बुँदे निर्देशन जारी गरेका छन्।

मंगलबार पत्रकार सम्मेलनमा पाँच बुँदे निर्देशन जारी गर्दै महान्यायाधिवक्ता बडालले कुनैपनि अपराध गरेर अनुसन्धान निकायले बोलाएर पनि अपराधी नआए मात्र त्यस्ता व्यक्तिलाई फरार शब्द प्रयोग गर्नुपर्ने बताए।

प्रहरीले बोलाएर बयान दिएर गएको मान्छेलाई पनि फरार शब्द प्रयोग गरिएकाले अनुपस्थित प्रतिवादी भन्ने शब्द प्रयोग गर्ने भनेर निर्देशन जारी गरेको बताए।

बडालले जारी गरेको निर्देशनको दोस्रो बुँदामा सहकारीको ठगी भएको रकम फिर्ता गरेका त्यस्ता व्यक्ति र पीडितबीच मिलापत्र गराई अदालतमा मुद्दा नचलाउने उल्लेख छ। 

उनले पहिला बैंकिङ कसुरको चेक अनादर मात्रै रहेको तर, अहिले सहकारी ऐन अन्तर्गतको कसुर र बैंकिङ कसुरमा मुद्दा चल्ने बताए। 

यस्ता छन् पाँच बुँदे निर्देशन :
१. मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ अन्तर्गतको सर्वसाधारणको ठगी, अनुचित लेनदेन, सर्वसाधारणको सम्पत्तिको हानी, नोक्सानी सम्बन्धी आपराधिक विश्वासघात, सर्वसाधारणको सम्पत्तिको हानि, नोक्सानी सम्बन्धी ठेक्का वा करारको काममा फरक पार्ने सम्बन्धी मुद्दा, सर्वसाधारणको सम्पत्ति हानि, नोक्सानी भएको मुलुकी अपराध संहिता, २०७४ दफा २८५ बमोजिमको आपराधिक उपद्रव सम्बन्धी मुद्दा कानून बमोजिम मिलापत्र गराउन आदेश दिने।
 
२. सर्वोच्च अदालतबाट नेपाल राष्ट्र बैंकको पत्र जाहेरीले बादी नेपाल सरकार प्रतिवादी दिव्यकुमार श्रेष्ठसमेत भएको बैंकिङ्ग कसूर मुद्दा ()&( RF ))@$) मा मिति २०८०।०३।२४ मा अभियोगपत्र दायर हुँदा कर्जा चुक्ता भइसकेको देखिएको अवस्थामा समेत उक्त कार्य बैंकिङ कसुर अन्तर्गत पर्ने भनी गम्भीर कसूर कायम गरी सजायका लागि माग दाबी गरेको कार्य न्यायोचित समेत नदेखिने भनी प्रतिवादीहरुले अभियोग दाबीबाट सफाई पाउने गरी फैसला भएको सन्दर्भमा ऋण लिएका व्यक्तिले ऋण चुक्ता नगरेको कारणले उत्पन्न भएको बैड्रिग कसूर वा सहकारी ऐन अन्तर्गतको कसूरको सम्बन्धमाः मुद्दा दायर हुनु भन्दा अगाडि तिर्नु पर्ने सावाँ, ब्याज भुक्तान गरेको प्रमाण पेश गरेको मुद्दामा सामान्यतया अभियोजन नगर्ने। यस्ता मुद्दामा अभियोजन गरिएको भएपनि सम्बन्धित बैंक वा वित्तीय संस्था वा सहकारी संस्था वा पीडित व्यक्ति र प्रतिवादीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११७ (२) तथा नेपाल सरकार बादी हुने फौजदारी मुद्दामा मिलापत्र गर्ने आदेश गर्दा अपनाउनु पर्ने मापदण्ड, २०८० बमोजिम प्रक्रिया पूरा गरी मिलापत्र गर्न चाहेमा मिलापत्रको लागि आदेश दिने।

३. महिला र पुरुष दुबै जना नाबालक भएको र बाबु आमाको मञ्जुरी नलिई विवाह गरेको वा भागी अर्को स्थानमा गई वैवाहिक सम्बन्ध कायम गरेको जरियाबाट उठान भएको मुद्दामा कतिपय सन्दर्भमा जबर्जस्ती करणी, शरीर बन्धक तथा अपहरण, एकीकृत कसूर जस्ता विषयमा समेत जाहेरी पर्ने र अभियोजन हुने गरेको देखिन्छ। यसै सन्दर्भमा सर्वोच्च अदालतबाट मिति २०७९।०७।२८ मा परिवर्तित नाम संगिताको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सन्तोष कुमार यादव भएको ()&%–CR –@^#*) अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणी मुद्दामा 'जबर्जस्ती करणी (Statutory Rape) र बालविवाह (Child Marriage) मा हुन सक्ने करणीको उद्देश्य, पृष्ठभूमि, तयारी, कार्य र मान्यतामा नै आधारभूत रुपमा फरक रहन जाने हुनाले जबर्जस्ती करणीलाई बालविवाहको सन्दर्भमा उमेर मात्रको सिमाबद्ध गर्न सकिने अवस्था रहँदैन' भनी व्याख्या भएको छ। बालबालिकाको सर्वोत्तम हितलाई संरक्षण गर्नु नेपाल सरकारको कर्तव्य हो। यस्तो अवस्थामा अनुसन्धान र अभियोजन गर्दा अधिक अपराधिकरण गरी नाबालकलाई धेरै मुद्दा चलाउने भन्दा सुधार गर्ने गरी अनुसन्धान र अभियोजन गर्नु उचित हुन्छ। बालविवाह बाहेक अन्य विषयहरू बालविवाहको परिणामस्वरुप सृजना भएको परिस्थितिको कारण उत्पन्न भएको र अन्य कसूर गर्ने गराउने मनसाय राखी कार्य भएको रहेनछ भने अधिक अपराधिकरण नहुने गरी बालविवाहको कसूरमा मात्र अनुसन्धान र अभियोजनको कारवाही अगाडि बढाउने।

४. मुद्दाको अनुसन्धानको क्रममा कुनै शंकित उपर पक्राउ पूर्जी जारी नभएको वा अनुसन्धानको क्रममा हिरासतमा नराखी अनुसन्धान भएकोमा अभियोजन गर्दा त्यस्ता व्यक्तिलाई अभियोगपत्र साथ उपस्थित गराउन नसकेकोमा अभियोगपत्रमा निजको हकमा फरार प्रतिवादी भन्ने वाक्यांशको सट्टामा 'अनुपस्थित प्रतिवादी' भनी उल्लेख गर्ने।

५. अनुसन्धानको क्रममा प्रचलित कानून बमोजिम बैंक खाता वा सम्पत्ति रोक्का राखिएकोमा, अभियोगपत्रमा त्यस्तो बैंक खाता वा सम्पत्तिबाट पीडितलाई बिगो वा क्षतिपूर्ति भराइपाउने वा जफत गरि पाउने माग दाबी लिनुपर्ने अवस्था रहेनछ भने अनुसन्धानको क्रममा रोक्का राखेको बैंक खाता वा सम्पत्ति अभियोगपत्र दायर गदकैि बखत वा पक्षको अनुरोधमा अनुसन्धान गर्ने निकायमा फुकुवाको लागि लेखी पठाउने। साथै, रोक्का राखेको सम्पत्ति वा बैंक खाताबाट पीडितलाई बिगो वा क्षतिपूर्ति भराई पाउने माग दाबी लिइएको रहेछ भने बिगो वा क्षतिपूर्ति भराई पाउने माग दाबी लिइएको हदसम्मको बैंक खातामा रहेको रकम वा सम्पत्ति रोक्का राखी अन्य सम्पत्ति फुकुवाको लागि अनुसन्धान गर्ने निकायमा लेखी पठाउने।

असोज ७, २०८१ मंगलबार १९:५३:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।