'१० वर्षे द्वन्द्वका कारण देशको मूल्यवान समय खेर गयो, त्योबेला हतियार उठाउनुपर्ने कुनै जरूरत थिएन'

'१० वर्षे द्वन्द्वका कारण देशको मूल्यवान समय खेर गयो, त्योबेला हतियार उठाउनुपर्ने कुनै जरूरत थिएन'

काठमाडौं : एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले १० वर्ष अकारण मुलुक द्वन्द्वमा धकेलिएको बताएका छन्।

मंगलबार राष्ट्रिय युवा संघ नेपाल साइबर सर्कल बिभागद्वारा आयोजित ‘डिजिटल मिडिया साक्षरता र कार्यशाला’ कार्यक्रममा उनले १० वर्षको द्वन्द्वका कारण देशको मूल्यवान समय खेर गएको भन्दै विकास गर्ने पैसा गोला बारुदमा खर्च गरेपछि सबै कुराहरू पछि धकेलिएको बताए। 

उनले भने, ‘१० वर्ष अकारण मुलुक द्वन्द्वमा धकेलियो। कारण केही पनि थिएन। बहुदल आएको पाँच वर्षभित्र त्यसको विरुद्धमा हतियार उठाउनुपर्ने कुनै जरुरत नै थिएन। इतिहासमा एउटा ठूलो प्रश्न छ त्यो १० वर्ष देशको मूल्यवान समय खेर नै गयो । विकास, समृद्धि सबै कुरा गए, विकास गर्ने पैसा गोला बारुदमा खर्च गरेपछि सबै कुराहरू पछि धकेलियो।'

उनले प्रायोजित तरिकाले गणतन्त्र मन नपराउनेहरुले देश बन्दैन भन्ने भाष्य निर्माण गरेको भन्दै त्यसलाई चिरेर देशलाई अगाडि बढाउनुपर्ने बताए। 

उनले भने, ‘देश बन्दैन, यहाँ बस्नु हुँदैन भनेर जुन भाष्य निर्माण भएको छ त्यसलाई चिरेर देश बन्छ भन्ने भाष्य निर्माण गर्नुपर्छ। कुनै ठाउँमा चुकेका पनि छौं, त्यसलाई अस्विकार गर्नुपर्ने कुनै कारण पनि छैन। हामीले कसरी समस्याको समाधान गरेर अगाडि बढ्न सक्छौं, त्यो पाटोबाट पनि हेरौं।’

भूकम्प, कोभिडका कारणले पनि देश पछाडि परेको भन्दै गरेका प्रयास निराशाजनक नभएको पनि उनको भनाई छ।

असोज ७, २०८१ मंगलबार १८:२८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।