बाँसबारी बुढानिलकण्ठ सडकको काम चाँडो सक्न मन्त्री पौडेलको निर्देशन

बाँसबारी बुढानिलकण्ठ सडकको काम चाँडो सक्न मन्त्री पौडेलको निर्देशन

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले खानेपानी तथा विद्युत विस्तारका कारण भत्काइएको बाँसबारी बुढानिलकण्ठ सडकको अवस्थाबारे जानकारी लिएका छन्।

काठमाडौं ५ का निर्वाचित सांसदसमेत रहेका मन्त्री पौडेलले तीन साता अघि मेलम्ची खानेपानी तथा नेपाल विद्युत प्राधिकरणले समयमै मर्मत नगरे पछि धुलो र धुवाँबाट नागरिकले सास्ती पाएको भन्दै कालोपत्रे तत्काल अघि बढाउने व्यवस्था मिलाउन भनेका थिए। 

एक वर्षअघि नै काम थालिएपनि तीन निकायबीचको समन्वय नहुँदा ढिलाइ भएपछि नागरिकलाई परेको सास्ती कम गर्न मन्त्री पौडेलले पटक पटक पहल थालेका थिए।
 
सडक डिभिजन, मेलम्ची खानेपानी आयोजना तथा नेपाल विद्युत प्राधिकरणका अधिकारीहरूसँग स्थलगत निरीक्षण गरेर काममा ढिलाइ नगर्न आग्रह गरेका थिए। त्यसलगत्तै सडकको सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रअघिको तीनसय मिटर खण्डमा कालोपत्रेको तयारी थालिएको थियो।

सडकमा माटो बिछ्याए पनि कालोपत्रे अघि नबढेको गुनासो आएपछि मन्त्री पौडेलले सम्बद्ध अधिकारीहरूको ध्यानाकर्षण गराएका थिए। 

मंगलबार पुनः निरीक्षणका लागि पुगेका सो क्षेत्रका सांसदसमेत रहेका मन्त्री पौडेलले अब काममा थप ढिलाइ नगर्न ध्यानाकर्षण गराए। त्यसक्रममा मन्त्रीसामू सम्बद्ध अधिकारीहरूले एक दुई दिनभित्रै कालोपत्रे सम्पन्न गराउने प्रतिबद्धता जनाएका थिए। 

सडक अन्तर्गतको चक्रपथ नारायणगोपाल चोकदेखि सहिद गंगालालसम्मको खण्ड भने नेपाल विद्युत प्राधिकरणले कालोपत्रे गर्ने भएको छ। 

प्राधिकरणको भागमा परेको सो खण्डको कालोपत्रेसमेत चाँडै अघि बढाउने प्रतिबद्धता प्राधिकरण अधिकारीहरूले जनाएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ। 

असोज ७, २०८१ मंगलबार १७:०२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।