इन्धन सुविधा कम भएको गुनासो गरेपछि कोशी प्रदेशका सभामुखलाई ७५ लिटर पेट्रोल थप, उपसभामुखको पनि थपियो

इन्धन सुविधा कम भएको गुनासो गरेपछि कोशी प्रदेशका सभामुखलाई ७५ लिटर पेट्रोल थप, उपसभामुखको पनि थपियो

काठमाडौं : कोशी प्रदेश सरकारले प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्ट र उपसभामुख सृजना दनुवारको सुविधा थप गरेको छ।

प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को अनुसूची संशोधन गर्दै सभामुख र उपसभामुखलाई दिने इन्धन सुविधा थप गरेको हो।

मन्त्रिपरिषद् बैठकले सभामुखका लागि मासिक ७५ लिटर र उपसभामुखका लागि ५० लिटर पेट्रोल सुविधा थप गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले जानकारी दिए।

त्यसअघि प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को अनुसूची १ अनुसार सभामुखले मासिक १५० र उपसभामुखले १२५ लिटर पेट्रोल पाउँदै आएका थिए।

सभामुख र उपसभामुखले इन्धन सुविधा कम भएको गुनासो गरेपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा भदौ २७ को मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। 

प्रदेशमा प्रमुख प्रतिपक्षी दलको नेताले र सत्तापक्षको प्रमुख सचेतकले १२५–१२५ लिटर इन्धन मासिक पाउनेछन्।

प्रदेशसभाको सभामुखमा राप्रपाका विष्ट र उपसभामुखमा एमालेकी दनुवार छिन्। 

असोज ७, २०८१ मंगलबार १६:२९:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।