एउटा नागरिकता बनाउन ४ लाख!, झुटो विवरण पेस गरी नागरिकता बनाएको आरोपमा ४ जना पक्राउ

एउटा नागरिकता बनाउन ४ लाख!, झुटो विवरण पेस गरी नागरिकता बनाएको आरोपमा ४ जना पक्राउ

काठमाडौं : झुटो विवरण पेस गरी नागरिकता बनाएको आरोपमा संलग्न चार जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको छ। 

प्रहरी प्रधान कार्यालयका अनुसार धादिङ नेत्रावती गाउँपालिका-१ घर भई हाल काठमाडौं महानगरपालिका-१० मनमैजु बस्ने ३१ वर्षीय मदनबहादुर तामाङ, धादिङ खनियाबास गाउँपालिका-५ घर भई हाल काठमाडौं सोह्रखुट्टे बस्ने ५६ वर्षीय रामेश्वर रिजाल, चीनको तिब्बतस्थित हिन्दे घर भई हाल काठमाडौं महानगरपालिका-६ महाङ्काल बस्ने ५३ वर्षीय छिरिङ ढुन्डुप र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-४ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ४६ वर्षीय छिरिङ् वाङ्दी शेर्पालाई पक्राउ गरिएको हो। 

जुवासम्बन्धी कसुरको अनुसन्धानका सिलसिलामा पक्राउ परेका चीनको स्वशासित क्षेत्र तिब्बतका सोनाम तामाङ भन्ने सोनामको साथबाट बरामद भएको जिल्ला प्रशासन कार्यालय धादिङबाट जारी भएको नागरिकता प्रमाणपत्रका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको थियो।

त्यसक्रममा उक्त नागरिकता छिरिङ ढुन्डुपले चार लाख रूपैयाँमा बनाइदिएको खुलेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपी छिरिङ ढुन्डुपसहित चार जनालाई पक्राउ गरेको हो।  

असोज ७, २०८१ मंगलबार १५:४७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।