झापामा ८० हजार रूपैयाँ घुस लिँदालिँदै विप्लवका कार्यकर्ताले पक्राउ गरे वडाध्यक्ष ओलीलाई
झापा : झापाको बुद्वशान्ति गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष गोपाल ओली ८० हजार रूपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन्।
झापाको बिर्तामोडस्थित हनुमान कम्प्लेक्स अगाडि घुस रकम लिँदै गर्दा मंगलबार दिउँसो ओली पक्राउ परे।
घुस रकम लिँदै गर्दा ओलीलाई नेत्र विक्रम चन्द बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरूले रकमसहित नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।
जमिनमा घर जग्गा बाटोको सिफारिस गरिदिए बापत उनले घुस रकम असुल गरेको पार्टीको प्रदेश कमिटी सदस्य अर्जुन पाण्डेले जानकारी दिए। पीडितले पार्टीमा जानकारी गराएपछि योजना बमोजिम रकम लिँदालिँदै ओली पक्राउ परेका हुन्।
अहिले वडाध्यक्ष ओलीलाई इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा राखिएको छ।
इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी प्रकाश विष्टले सुरक्षाको अवस्थालाई ध्यान दिँदै वडाध्यक्ष ओलीलाई इप्रकामा राखिएको बताए।
उनले प्रहरीको क्षेत्राधिकार नभएकोले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा खबर गरिएको बताए।
असोज ८, २०८१ मंगलबार १४:४४:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।