कलाकारले फिल्मैपिच्छे ‘स्टार’ उपमा पाइरहँदा निर्माता अर्जुन कुमार भन्छन्- ‘भ्रममा नपर्नुस्, नेपालमा कोही स्टार नै छैन’

कलाकारले फिल्मैपिच्छे ‘स्टार’ उपमा पाइरहँदा निर्माता अर्जुन कुमार भन्छन्- ‘भ्रममा नपर्नुस्, नेपालमा कोही स्टार नै छैन’

काठमाडौं : कलाकारलाई अनेक उपाधि दिएर फुर्क्याउनु फिल्म क्षेत्रमा नौलो विषय होइन। यद्यपि त्यसरी दिइएका उपाधिहरू पछिल्लो समय विवादरहीत हुन सकेको छैन।

अभिनेता राजेश हमाललाई महानायक, करिश्मा मानन्धरलाई महानायिका, भुवन केसीलाई सदाबहार नायक वा सुपरस्टार, शिव श्रेष्ठलाई एक्सन स्टारको उपनाम दिएको विषयमा सबै मतैक्य हुन सकेका छैनन्। उनीहरूलाई के को आधारमा स्टार मान्ने भन्ने मानक छैन।

नाम चलेका र लामो समयदेखि कलाकारितामा सक्रिय कलाकारहरूलाई उपनाम दिँदा त विवाद भइरहेको सन्दर्भमा पछिल्लो समय एकाध फिल्मले लगानी उठाएकै आधारमा कलाकारहरूलाई अनेक स्टारको उपमा दिइराखिएको छ। यद्यपि त्यसरी उपाधि दिइएको फिल्मले भने हलमा पानी समेत भन्ने पाएको देखिँदैन।

पछिल्लो समय अनमोल केसीलाई ‘मेगा स्टार’ र पूजा शर्मालाई ‘लेडी टाइगर’को उपमा नै दिइयो। ‘ए मेरो हजुर ३’ र ‘दान्वी’ फिल्ममा कलाकारको नामको अगाडि यस्तो उपाधि दिइएको थियो। यद्यपि यी दुवै फिल्मले आशातीत व्यापार गर्न भने सकेनन्।

अहिले फेरि अर्काथरीले स्वस्तिमा खड्कालाई ‘नम्बर वान नायिका’ भन्न भ्याइसके। उनको फिल्म ‘बेहुली फ्रम मेघौली’ प्रदर्शनको तयारीमा रहेको सन्दर्भमा उनका केही समर्थकले उनलाई हावामा उडाइरहेका छन्। कलाकारहरू पनि त्यसबाट पन्छिनका लागि कुनै वक्तव्य निकाल्दैनन्, बरु दङ्ग परेर बस्छन्।

यसैबीच प्रदर्शनमा आउन लागेको फिल्म ‘सानो संसार’का निर्माता अर्जुन कुमारले अर्को अर्थपूर्ण अभिव्यक्ति दिएका छन्। फिल्मको पत्रकार सम्मेलनमा सोमबार निर्माता कुमारले नेपालमा कुनै कलाकार पनि स्टार बताए।

‘मैलै बार बार भन्दै आएको छु, नेपालमा कुनै पनि कलाकारलाई स्टार मान्दिनँ,’ उनले भने, ‘नेपालको कुनै पनि कलाकार राखेर यो फिल्म चलाउँछु अथवा पैसा कमाउन सकिन्छ भनेर ग्यारेन्टी दिन सकिँदैन। मिडियाका, पत्रकार साथीहरुलाई मेरो आग्रह- यस्ता कुराले दर्शकलाई गुमराहमा राख्ने काम बन्द गरौँ। नेपालमा कोही स्टार छैन।’

दर्शकले कसैलाई पनि स्टार नमान्ने उनको भनाइ छ। पछिल्लो सममका अभिनेता प्रदीप खड्का, पल शाह, अनमोल केसीलाई केही मान्छेहरूले स्टार भन्न थालेका छन्। तर उनीहरूको फिल्म हेर्न दर्शक हलमा गएका छैनन्। पछिल्लो समय कोही कलाकारहरूलाई स्टार मानिरहनु भएको छ नि भन्ने पत्रकारको प्रश्नमा उनले दर्शकले कसैलाई पनि स्टार नमान्ने तर्क दिए।

‘दर्शकले कसैलाई पनि स्टार मान्दैनन्,’ उनले थपे, ‘दर्शकलाई राम्रो सिनेमा चाहिएको छ। दर्शकलाई पैसा असुल हुनुपर्यो के। बारम्बार मैले एउटै कुरा दोहोर¥याइरहेको छु। मिडियाका साथीहरूले पनि अनावश्यक कुराहरुलाई बढुवा दिइरहेको हुन्छ । फलना हिरोले ५० लाख लियो रे, फलनाले यति लियो रे। फलना फिल्ममा ७ करोड खर्च भएको छ। यो कुरा दर्शकलाई मतलबै हुँदैन। दर्शकलाई मतलब हुने भनेको सिनेमा हो।’

अर्जुन कुमारले निर्माण गरेका फिल्ममा नयाँ कलाकार भन्दा पनि चलेका कलाकारहरूले अभिनय गर्थेँ। उनका फिल्ममा नयाँले चान्स पाउनै मुस्किल हुन्थ्यो। उनले ‘द युग देखि युगसम्म’देखि यता थुप्रै फिल्ममा लगानी गरेका छन्। ‘चपली हाइट’ उनको चलेको फिल्म हो।

सात वर्षअघि उनले फिल्म ‘फाटेको जुत्ता’ निर्माण गरेका थिए। त्यसमा उनले त्यस समय चलेका कलाकार सौगात मल्ल, प्रियंका कार्की लगायतलाई लिएर फिल्म निर्माण गरे। त्यो फिल्मले ठिकै व्यापार गर्यो। त्यसपछि उनले स्वस्तिमा खड्का, सुपुष्पा भट्ट लगायत राखेर उनले कोभिडको सममया फिल्म ‘चपली हाइट३’ निर्माण गरेर प्रदर्शनमा ल्याएका थिए।

यसअघि प्रदर्शनमा आएका फिल्म ‘चपली हाइट’को चलेपछि उनले यसैको सिक्वेल निर्माण गरे। तर कोभिड १९को महामारीले उग्ररुप लिएपछि सरकारले फिल्म चलेको २ दिनमा नै देशभर लकडाउन लगाएपछि फिल्म नराम्ररी डुब्यो। त्यतिबेला उनले फिल्म प्रमोसनका समयमा कलाकारले साथ नदिएको आरोप लगाएका थिए। यो फिल्म नराम्ररी डुबेपछि उनले फिल्म बनाउने आँट नै गरेका थिएनन्।

दुई महिना अघि फिल्म अचानक फिल्म ‘सानो संसार’को निर्माण घोषणा गरेका अर्जुन कुमारले नयाँ कलाकार राखेर फिल्म निर्माण गरे। हल्लाखल्ला नगरि उनले कमलादीको गणेश मन्दिरमा नयाँ कलाकार,नयाँ निर्देशक तथा लेखक राखेर फिल्मको घोषणा गरेका थिए। 

करोडको लगानीमा फिल्म बनाउने अर्जुन कुमार अचानक न्यून खर्चमा फिल्म ‘सानो संसार’बनाएर प्रदर्शनको तयारीमा जुटेका छन्। उनले यो फिल्ममा नयाँ कलाकारलाई मौका दिएको उनको दाबी छ।

यही फिल्मबाट ‘माग्ने बुढा’का उपनामले परिचित केदार घिमिरेकी श्रीमती सीतादेवी तिमिल्सिना, अन्जसा रिजाल, अनु दाहाल, राज पंगेनी शर्मा नव कलाकारहरूले अभिनय गरेका छन्। सिद्धार्थ पुडासैनीको डेब्यु निर्देशनमा तयार भएको यो फिल्ममा माधव वाग्ले कार्यकारी निर्मातामा छन्। 

असोज ७, २०८१ मंगलबार १४:२९:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।