एक वर्षका लागि नेपाली क्रिकेटको ‘होम ग्राउन्ड’ अमेरिका हुनसक्छ : पारस खड्का

एक वर्षका लागि नेपाली क्रिकेटको ‘होम ग्राउन्ड’ अमेरिका हुनसक्छ : पारस खड्का

काठमाडौं : नेपाल क्रिकेट संघका सचिव पारस खड्काले एक वर्षका लागि नेपाली क्रिकेटको ‘होम ग्राउन्ड’ अमेरिका हुनसक्ने बताएका छन्।

राष्ट्रिय खेलकुद परिषद्को कार्यालयमा स्थापना भएको नेपाल प्रिमियर लिगको ‘हेल्प डेस्क’ उद्घाटन कार्यक्रममा सञ्चारकर्मीले राखेको जिज्ञासामा खड्काले त्रिवि मैदानमा निरन्तर काम हुने पक्का भएको अवस्थामा एक वर्षसम्म नेपाली क्रिकेटको घरेलु मैदान अमेरिका हुनसक्ने बताए।

‘त्रिवि क्रिकेट मैदान निर्माणका लागि १० महिनाभन्दा बढी समय लाग्नसक्छ,’ उनले भने, ‘इन्जिनियरिङ टिमले बनाएको योजना हामीलाई जानकारी गराउनुहुन्छ। अहिलेको लागि हाम्रो होम ग्राउन्ड अमेरिका हुनसक्ने सम्भावना छ।’

उनले अगाडि भने, ‘अन्तर्राष्ट्रिय खेलहरू खेल्नका लागि २०२५ मा स्टेडियम बन्ने हो भने एक वर्ष अमेरिकाको डालसमा सम्पूर्ण नेपालीहरूबीच नै म्याच खेलेर नेपालमा भएका जनतालाई मुलपानीमा खेलहरू सञ्चालन गर्ने योजना पनि बनाएका छौँ।’

अमेरिकाको डालसमा रहेको ग्रान्ड पेरी स्टेडियममा नेपालले विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्धको खेल खेलेको थियो।

यद्यपि त्यसअघि नेपाल प्रिमियर लिगका सम्पूर्ण खेलहरू त्रिवि मैदानमा नै हुने उनको भनाइ छ। त्यसका लागि त्रिवि मैदानमा अस्थायी सिटहरू राखिने छ।

‘त्रिवि क्रिकेट मैदानमा दर्शकका लागि अस्थायी सिटहरू राखिने छ,’ उनले थपे, ‘त्रिवि मैदान स्तरोन्नत्तिका लागि बन्द हुने अवस्थामा ती सिटहरूलाई मुलपानीमा प्रयोग गर्न सकिन्छ।’

आगामी वर्ष अप्रिलमा १९ वर्षमुनिको विश्वकप छनोट आयोजना गर्नुपर्ने भएकाले पनि छिटोभन्दा छिटो क्रिकेट स्टेडियम तयार गर्नुको विकल्प नभएको उनको भनाइ छ।

‘तल्लो मुलपानी क्रिकेट मैदानलाई पनि चाँडै नै व्यवस्थित गर्नका लागि नेपाल क्रिकेट संघले आफैँ लगानी गरेर अगाडि बढ्ने तयारीमा छौँ’, उनले थपे।

एउटा स्टेडियम निर्माण हुने हो भने, त्यसबाट प्राप्त हुने आम्दानीबाट नै नेपाल क्रिकेट संघ ४५ वटा जिल्ला र सात प्रदेशमा क्रिकेट व्यस्थापन गर्न ठूलो आड पाउन सकिने विषय दोहोर्याए।
 

असोज ७, २०८१ मंगलबार १३:३५:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।