लेबनानका १६ सय स्थानमा इजरायली आक्रमण : अहिलेसम्म ४९२ जनाको मृत्यु, १ हजार ६४५ जना घाइते

लेबनानका १६ सय स्थानमा इजरायली आक्रमण : अहिलेसम्म ४९२ जनाको मृत्यु, १ हजार ६४५ जना घाइते

एजेन्सी : इजरायली डिफेन्स फोर्स (आईडीएफ)ले सोमबार लेबनानमा हिजबुल्लाहका एक हजार ६०० स्थानमा लक्षित गरी हवाई आक्रमण गरेको छ। सो क्रममा १० हजार रकेट नष्ट गरेको इजरायली दाबी छ।

यसै क्रममा लेबनानको स्वास्थ्य मन्त्रालयले यस आक्रमणमा हालसम्म ४९२ जनाको ज्यान गएको जनाएको छ। जसमध्ये ५८ महिला र ३५ बालबालिका रहेका छन् भने १ हजार ६ सय ४५ जना घाइते भएका छन्।

अल जजीराका अनुसार सन् २००६ मा इजरायल-लेबनान युद्धपछि लेबनानमा भएको यो सबैभन्दा ठूलो आक्रमण हो। २००६ मा भएको एक महिना लामो लडाइँमा एक हजार लेबनानी मानिसहरू मारिएका थिए।

अहिले लेबनानमा सेप्टेम्बर २६ बुधबारसम्म स्कूल र कलेजहरू बन्द गरेर मानिसहरूलाई सुरक्षित स्थानमा पठाइएको छ।

इजरायलले लेबनानमा सञ्चालित अभियानलाई ‘नर्दन एरोज’ नाम दिएको छ। हिजबुल्लाहले दक्षिणी लेबनानका घरहरूमा मिसाइल लुकाएर राखेको आरोप लगाउँदै ती मिसाइलहरू एक वर्षदेखि इजरायलमा प्रहार गरिरहेको छ।

यसैबीच, संयुक्त राष्ट्र प्रमुख एन्टोनियो गुटेर्रेसले लेबनान अर्को गाजा बन्न नचाहेको बताएका छन्। अर्कोतर्फ, लेबनानबाट जवाफी हमलाको आशंकाका बीच इजरायलले देशभर एक साता लामो संकटकाल लगाएको छ।

रक्षा मन्त्री योभ गालान्टको आदेशमा, क्याबिनेट मन्त्रीहरूले आपतकालीन निर्णय लिन फोनबाट मतदान गरे। इजरायली आक्रमणपछि नेतान्याहुले लेबनानका जनतालाई सन्देश जारी गरेका छन्।

नेतान्याहुले इजरायलको युद्ध हिजबुल्लाहसँग भएको भन्दै अपरेशनमा हस्तक्षेप नगर्न चेतावनी दिएका छन्।

इजरायली सेनाले हिजबुल्लाहका लुकेका मानिसहरूलाई तुरुन्तै घर छोड्न चेतावनी दिएको थियो। टाइम्स अफ इजरायलका अनुसार आईडीएफका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले सामाजिक सञ्जालमा एउटा भिडियो जारी गरेका थिए।

हागारीले लेबनानी नागरिकहरूलाई खतरा क्षेत्रबाट टाढा जान आग्रह गरेका थिए। 

उनले भनेका थिए, ‘इजरायली सेनाले हिजबुल्लाह विरुद्ध थप घातक हमला गर्न गइरहेको छ। हिजबुल्लाहले घर र भवनहरूमा हतियारहरू भण्डारण गरेको छ। यदि तपाईं हतियार भएको भवनमा हुनुहुन्छ भने, सकेसम्म चाँडो छोड्नुहोस्।’

यो सन्देश लेबनानका सबै नेटवर्क र प्लेटफर्महरूमा अरबीमा पठाइएको थियो।

असोज ७, २०८१ मंगलबार १२:२८:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।