आन्दोलनमा ज्ञानेन्द्र अलि नरम भइिदएको भए आज परिस्थिति अर्कै हुन्थ्यो : प्रचण्ड

आन्दोलनमा ज्ञानेन्द्र अलि नरम भइिदएको भए आज परिस्थिति अर्कै हुन्थ्यो : प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०६२/०६३ को आन्दोलनको ताका ज्ञानेन्द्र शाह अलि नरम भइदिएको भए आज परिस्थिति अर्कै हुने बताएका छन्।

मंगलबार आफ्नै निवासमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रसँगको भेटमा उनले यस्तो बताएको मिश्रले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।

प्रचण्डको भनाइ उद्धृद गर्दै‌ मिश्रले भने, ‘राजा ज्ञानेन्द्रले पनि २०६२/०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति अर्कै हुन्थ्यो।’

यसका साथै प्रचण्डले यही स्थितिको निरन्तरताबाट अब देश नचल्ने निष्कर्षमा पुगिसकेको बताउँदै राजा महेन्द्रको समेत प्रशंसा गरे।

‘अहिले पनि मेरो भावना देश नै बनाउनु पर्छ भन्ने हो। तर अब यसरी चाहिँ हुँदैन,’ उनले थपे, ‘पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रहेछ। राजा महेन्द्र त गग्जबका भिजनरी रहेछन्।’

प्रचण्डले निरन्तरतामा क्रमभंगता अत्यावश्यक भइसकेको बताएको मिश्रले उल्लेख गरेका छन्।

मिश्र र प्रचण्डबीच आइतबार एक कार्यक्रममा भेट भएको थियो। त्यसपछि आज विहान उनी प्रचण्डनिवास खुमलटार पुगेका हुन्।

राप्रपा र माओवादी केन्द्र अहिले दुवै प्रतिपक्षी दल हुन्।

असोज ७, २०८१ मंगलबार ११:५८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।