शिष्ट बन्न अमेरिकावासी नेपालीलाई ओलीको आग्रह, भने- ‘राजनीति गर्न मन भए प्रवासी नागरिकता त्यागेर आउनू’

शिष्ट बन्न अमेरिकावासी नेपालीलाई ओलीको आग्रह, भने- ‘राजनीति गर्न मन भए प्रवासी नागरिकता त्यागेर आउनू’

न्युयोर्क : विरोध हुने सुइँकाे पाएपछि कार्यक्रम स्थगित गर्न लगाएका प्रधानमन्त्री केपी शर्मा ओलीले शिष्टताको परिचय दिन आग्रह गरेका छन्।

सोमबारको भव्य कार्यक्रम स्थगित भएपछि मंगलबार प्रवासी नेपाली मञ्चका सीमित व्यक्तिहरूसँगको भेटमा ‌ओलीले शिष्टताको परिचय दिन आग्रह गरेका हुन्।

‘नेपालीहरू जहाँ भए पनि यस्तै हो भन्ने प्रभाव पार्नु हुँदैन। साना स्वार्थले बुझ्दै नबुझी नराम्रा व्यवहार गर्न पुग्छन्, तिनीहरूलाई सम्झाइबुझाइ गरेर सही मार्गमा ल्याउनु हाम्रो दायित्व हो’, उनले भने।

प्रधानमन्त्री ओलीले एकपटकको नेपाली सधैँका लागि नेपाली हुने मान्यतासहित काम गर्न आग्रह गर्दै राजनीतिक अधिकार प्रयोग गर्नुपरेमा प्रवासको नागरिकता निस्क्रिय पारेर गर्न सकिने बताए।

संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका हुन्।

सोमबार प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री आरजु राणा देउवा उपस्थित हुने कार्यक्रममा कालो झण्डा देखाएर विरोध गर्ने सुइँको पाएपछि उनले त्यहाँको कार्यक्रम नै स्थगित गर्न लगाएका थिए।

प्रवासी नेपाली मञ्चको सीमिति व्यक्तिसँगको भेटको क्रममा उनले क्यालिफोर्नियामा महावाणिज्य दूतावास खोल्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

‘तपाईंहरू ढुक्क भएर जानुस्। क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने विषयमा हामीले सोच बनाइसकेका छौँ’, उनले भने।

यस्तै उनले लोकतान्त्रिक मूल्यमान्यता, संघीयता, गणतन्त्र र मुलुकको सार्वभौमसत्ताको रक्षाजस्ता विषयमा संविधान संशोधनमा हेरफेर नहुने भन्दै संविधानलाई परिस्कृत बनाउने क्रममा संशोधन आवश्यक पर्ने बताए।

संविधान संशोधनको विषयमा दलहरुबचि आपसी छलफल गरी सहमतिका आधारमा गरिने भएकाले तत्काल संशोधन हुन सहज नभएको उल्लेख गरे।

असोज ८, २०८१ मंगलबार ११:०५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।