गुरुयोजना विपरीतका निर्माणले विश्वसम्पदा सूचीबाट हट्ने जोखिममा शान्तिभूमि लुम्बिनी

गुरुयोजना विपरीतका निर्माणले विश्वसम्पदा सूचीबाट हट्ने जोखिममा शान्तिभूमि लुम्बिनी

बुटवल : गुरुयोजनालाई बेवास्ता गर्दै गुरुयोजना विपरीत लुम्बिनीमा पूर्वाधारको काम भइरहेपछि लुम्बिनी विश्व सम्पदा सूचीको खतराको सूचीमा पर्ने जोखिम बढेको छ।

जापानी वास्तुकलाविद् केन्जो टाँगेले तयार गरेर लागू गरिएको गुरुयोजना विपरीत अहिले लुम्बिनीमा विकास कोषका पदाधिकारीहरू आफूअनुकूलका संरचना बनाउन उद्दत हुँदा लुम्बिनी खतराको सूचीमा जाने जोखिम बढेको हो।

अहिले लुम्बिनी विकास कोषले गुरुयोजना विपरीत प्राविधिक शिक्षालय निर्माणका लागि भन्दै ताइवान मुख्यालय रहेको चुजी फाउण्डेसनलाई १ सय ६० वर्गमिटर जग्गा उपलब्ध गराएको छ।

गत अप्रिलमा बसेको बोर्डको बैठकले उक्त फाउण्डेसनलाई जग्गा दिने निर्णय गरेको लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्यले पुष्टि गरे।

स्थानीयलाई रोजगारमूलक सीप सिकाउन प्राविधिक शिक्षालय निर्माणका लागि जग्गा उपलब्ध गराइएको शाक्यले बताए। उनका अनुसार यसका लागि कोषले संस्थासँग सम्झौता समेत भइसकेको छ। स्थानीयको माग अनुसार नै यो जग्गा दिइएको उनको दाबी छ।

‘त्यहाँ भोकसनेल ट्रेडिङ हुनेछ। यस्तो ट्रेडिङ यहाँ मात्र नभएर इन्डोनेसिया र टर्कीमा पनि छन्’, उनले भने।

गुरुयोजना विपरीत जग्गा उपलब्ध गराएपछि यसको विरोध समेत भएको छ। लुम्बिनी बचाउ अभियानका संयोजक रामविकास चौधरीले कोषका पदाधिकारीहरूले आफ्नो स्वार्थ अनुसार लुम्बिनी विकास कोष चलेको आरोप लगाए।

‘कोषका मान्छेको मनसायको दुषित छ। कसरी हुन्छ लुम्बिनी लाई युनेस्कोबाट बाहिर जाओस् भन्ने चाहन्छन् उनीहरू’, उनले आरोप लगाए।

उनले चुजी फाउण्डेसनको निर्माण कुनै हालतमा पनि हुन नदिने बताए। त्योसँगै मायादेवी मन्दिरको रिडिजाइन कन्ट्रकक्सनको काम पनि हुन नदिने उनको अडान छ।

अहिले लुम्बिनीको महिलवारमा एउटा होटल भाडामा लिएर कार्यालय स्थापना गरेको फाउण्डेशनले लुम्बिनी क्षेत्रमा गतिविधि सञ्चालन गर्दै आएको छ।

लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर स्मिता भट्ट कोषले चुजी फाउण्डेशनलाई जग्गा उपलब्ध गराउने बारे आफू जानकार नभएको बताइन्।

´म नआउँदैको निर्णय रहेछ, औपचारिक रूपमा जानकारि छैन’, उनले भनिन्।

कोषले संस्थालाई जग्गा उपलब्ध गराउनुअघि अध्ययन समिति बनाएको र उक्त समितिले बुझाएको प्रतिवेदनका आधारमा जग्गा प्रदान गरिएको दाबी गरेको छ।

जोखिममा लुम्बिनी
भारतको राजधानी नयाँ दिल्लीमा गत जुलाई २१ देखि ३१ सम्म आयोजना भएको युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४६औं सेसनले लुम्बिनीलाई तत्काल खतराको सूचीमा नराख्ने निर्णय लिएको थियो। यद्यपि सुधारका लागि छ महिनाको समय पनि दिएको थियो।

तर यसबीचमा गुरुयोजना विपरीतका काम जारी राख्न पदाधिकारी नै उद्दत हुँदा त्यो जोखिम अझै कायमै छ। जसकारण लुम्बिनी विश्वसूची सम्पदाबाट हट्न सक्ने जोखिममा छ। छ महिनाभित्र कमजोरी नसुधारिए  आगामी वर्ष खतराको सूचीमा पर्नबाट लुम्बिनीलाई बचाउने अवस्था छैन।

सम्पदा सूचिमा समेटिएका कारण सम्पदाको विश्वव्यापी महत्त्व बढ्ने र त्यसको संरक्षण सम्बर्द्धन गर्न टेवा पुग्ने हुँदा यस्तो सूचीलाई महत्वपूर्ण मानिन्छ। तर, लुम्बिनीमा गुरुयोजना विपरीतका गतिविधि र सम्पदामैत्री काम नगर्दा युनेस्कोले लुम्बिनीलाई २०२४ मा खतराको सूचीमा राख्ने मस्यौदा तयार गरेको थियो।

तत्कालका लागि जोखिम टरे पनि युनेस्कोको खतराको सूचीमा राख्ने मस्यौदाको निर्णयबाट हट्न भने धेरै काम गर्नु पर्ने भए पनि गुरुयोजना विपरीतकै काम गर्न कोष लागि परेको लुम्बिनी बचाउन अभियानका संयोजक चौधरीले बताए।

‘लुम्बिनीमा जथाभावी गुरुयोजना विपरीत काम हुँदा यसलाई बचाउने चुनौती बढ्दै गएको छ’, उनले भने।

असोज ७, २०८१ मंगलबार ०८:५५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।