आजबाट फेरि सक्रिय भयो मनसुन, बिहीबारदेखि अति भारी वर्षाको सम्भावना

आजबाट फेरि सक्रिय भयो मनसुन, बिहीबारदेखि अति भारी वर्षाको सम्भावना

काठमाडौं : केही समय सुस्ताएको मनसुन फेरि सक्रिय भएको छ। जसअनुसार मंगलबारदेखि साताभर वर्षाको सम्भावना रहेको छ। 

बिहीबारदेखि शनिबारसम्म भने देशभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण मंगलबार दिउँसोदेखि देशभर बादल लाग्नेछ।

दिउँसो लुम्बिनीका पश्चिमी भूभाग तथा सुदूरपश्चिमका तराईका धेरै स्थानमा हल्का वर्षा तथा केही स्थानमा मध्यम वर्षा र एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र कर्णालीका केही स्थानमा पनि वर्षा हुने देखिएको छ।

बुधबार सातवटै प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिमका थोरै तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको पनि चेतावनी दिइएको छ।

सुदूरपश्चिमका एक-दुई स्थानमा धेरै भारी वर्षाको आकलन महाशाखाले गरेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनीका तराई तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्ने देखिन्छ।

बिहीबारदेखि शनिबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै तथा कोशीका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको मौसमविद् झाले बताए।

कोशी प्रदेश, बागमती, गण्डकी, लुम्बिनी का तराई तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्ने आँकलन छ।

असोज ७, २०८१ मंगलबार ०७:११:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।