वनमा गोरू चराउन जाँदा झरेको सुक्खा पहिरोमा परी एक महिला बेपत्ता

वनमा गोरू चराउन जाँदा झरेको सुक्खा पहिरोमा परी एक महिला बेपत्ता
फाइल

काठमाडौं : सुक्खा पहिरोमा परी गुल्मीको मालिका गाउँपालिका-२ जुनाम सिम्लेस्थित एक महिला बेपत्ता भएकी छन्। ६९ वर्षीया टनि पुन आइतबारदेखि बेपत्ता छिन्। 

घर नजिकै रहेको मनकामना सामुदायिक वनमा गोरू चराउन गएको बेला सुक्खा पहिरो झरेको थियो। त्यसपछि उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पहिरो गएको ठाउँमा आज खोजतलास गर्ने क्रममा दुइवटा गोरू मरेको भेटिएको प्रहरीले जनाएको छ। त्यस सामुदायिक वनको छ सय मिटर माथिबाट सुक्खा पहिरो गएको छ। 

उनी अझै सम्पर्कमा नआएकाले पहिरोमा पुरिएको हुनसक्ने प्रहरीको अनुमान छ। 

स्थानीय र प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शंकरप्रसाद पोख्रेलले जानकारी दिए।   

असोज ६, २०८१ सोमबार २२:०२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।