‘छक्का पञ्जा’ टिममा कुँजिएर बसेका छन् माग्ने बुढा, केही समयपछि बाहिरिन सक्छन् : जितु

‘छक्का पञ्जा’ टिममा कुँजिएर बसेका छन् माग्ने बुढा, केही समयपछि बाहिरिन सक्छन् : जितु

काठमाडौं : हास्यकलाकारको जम्बो टोलीले खडा गरेको छक्का पञ्जा टिम अहिले छिन्न भिन्न छ। ‘६ एकान ६’बाट जोडिएका 'तीतो सत्य, जिरे खोर्सानी र मेरी बास्सै'को टिमका मुख्य कलाकारहरू मिलेर बनेको यो समूह छक्का पञ्जा ५मा आइपुग्दा दीपकराज गिरी, दीपाश्री निरौला र केदार घिमिरे मात्रै बाँकी रहे। 

त्यो भन्दा अघिका सीताराम कट्टेल (धुर्मुस), सन्दिप क्षेत्री, शिवहरी पौडेल र पछिल्लो समय जितु नेपाल बाहिरिएका छन्। टिममा कुञ्जना घिमिरे, ताराचन्द्र बजगाईं, सुमन गिरीसमेत जोडिएका थिए। तर, अहिले छैनन्। 

यही टिमबाट निकालिएका निर्मल शर्मा (गैडे) भने पछिल्लो समय फेरि जोडिएका छन्। 

यही टिममा रहेका केदार घिमिरे पनि अर्को पार्टमा हुन्छन् हुँदैन भन्ने हल्ला चल्न थालेको छ। दीपकराज गिरीले केदार घिमिरेलाई पैसा फल्ने रुखका रुपमा लिँदै आएको कुरा उनैले बेलाबेला अन्तर्वार्तामा भन्दै आएका छन्। छक्का पञ्जा टिमकै दबाबमा उनले अरू फिल्म खेल्न नपाएको समेत कुराहरू बाहिरिन थालेका छन्। 

यही टिमबाट बाहिरिएका जितु नेपाल र छक्का पञ्जा टीमले निर्माण गरेको फिल्म ‘छक्का पञ्जा ५’यहि अशोज २४ मा हलमा भिड्ने भएपछि पुराना कुराहरू बाहिरिन थालेका हुन्। एक अर्काले आफ्नो पोल खोलाखोल गर्ने क्रम झन् उग्र भएर आएको छ। 

आइतबार एक अन्तवार्तामा जितु नेपालले दीपकराज गिरीकै इगोका कारण यो टिम छिन्नभिन्न हुन पुगेको आरोप लगाए। 

'दीपकले जुन किसिमले टीम खडा गर्नुभयो, त्यसमा धुर्मुस पनि थिए। माग्ने बुढा पनि थिए, अझ सन्दीप क्षेत्री पनि जोडेका थियौं,’ उनले भने, ‘पछिल्लो समय फुट्दै-फुट्दै, सकिँदै-सकिँदै गए। अहिले त केदार घिमिरेजी र उहाँहरू मात्रै हुनुहुन्छ। समूह बनाउनु ठुलो कुरो होइन, समूहलाई टिकाउनु ठुलो कुरो हो।’

मै हुँ भन्ने नेतृत्वकर्ताले साथीहरूको गुनासो नसुनेकै कारण टिममा यस्तो अवस्था आएको उनले बताए। 

उनले थपे, ‘म यसको नेतृत्वकर्ता हुँ भन्नेले केही साथीहरूको गुनासाहरू पनि छन् कि भनेर सुन्नु पनि पर्छ। सबै साथीहरूमा एउटै गुण खोजेर पनि हुँदैन। एउटै आमाले जन्माएको छोराछोरीको त गुण मिल्दैन। म त फरक आमाले जन्माको हो नि त।’

यही कार्यक्रममा उनले केदार घिमिरे छक्का पञ्जाको टिममा कुँजिएर बसेको र कहि समयपछि बाहिरिन सक्ने संकेत गरे। उनले आफूले पनि केही सुझावहरु दिएको उनको भनाई छ। उनको भनाई र केदार घिमिरेको कुराकानीमा केही ताममेल मिलेको बुझिन्छ। 

तर, छक्का पञ्जा टिमबाट बाहिरिने कुरामा उनीहरुले एकअर्कामा मुख नखोले पनि अर्को फिल्म बन्दा प्रष्ट भइहाल्छ। त्यतिन्जेल दीपक-दीपा मात्रै टिममा रहन्छन् कि माग्ने पनि हुन्छन्, हेर्न बाँकी छ।  

असोज ६, २०८१ सोमबार २१:३५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।