पत्रकारहरूको जिन्दगी भयावह छ, न्यूनतम् पारिश्रमिक नपाउँदा पनि आफ्नो धर्म निभाइरहेका छन् : सञ्चारमन्त्री

पत्रकारहरूको जिन्दगी भयावह छ, न्यूनतम् पारिश्रमिक नपाउँदा पनि आफ्नो धर्म निभाइरहेका छन् : सञ्चारमन्त्री

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संसारलाई नै सूचित गर्ने पत्रकारहरू आफ्नाबारे सुसूचित हुन नसकेको बताएका छन्। 

सोमबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सबैलाई झकझक्याउने, जनतालाई सुसूचित गर्ने पेशाले नै आफ्नाबारे सुसूचित गर्न नसकेको बताए।

उनले भने, ‘प्राइभेट अस्पताल, स्कुल र पत्रकारहरूको जिन्दगी एकदमै भयावह अवस्थामा छ। प्राइभेट स्कुलका शिक्षकहरूले कोभिड लागेर स्कुल बन्द भएको ११ महिना भयो, पैसा छैन भनिरहेका छन्। पत्रकारिता क्षेत्र पनि सबैभन्दा बढी जोखिममा छ। आफ्नो अनि परिवारको केही प्रबर्द्धन छैन। दुनियाँलाई सुसूचित गर्ने पत्रकारहरूले आफ्नो लागि सुसूचित गर्न सकेका छैनन्।’

उनले जोखिममा भएको पत्रकारिता क्षेत्रले मानवतालाई जोगाइ राखेको बताए।  

'न्यूनतम् पारिश्रमिकसमेत नपाउने स्थिति झेलेर पनि पत्रकारले आफ्नो धर्म निर्वाह गरिरहेका छन्, पत्रकार हरेक हिसाबले जोखिममा छन्, यद्यपि, आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन्, उनले भने। 

यस क्षेत्रको सुरक्षा गर्ने दायित्व राज्यको भएकाले आफूहरू अब नीति र कानुन बनाएर पत्रकारिता जगतलाई सहज बनाउन लागेको उनको दाबी छ।  

असोज ६, २०८१ सोमबार २१:११:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।