फ्रान्समा बढे सामूहिक बलात्कारका मुद्दा, २६ देखि ७४ वर्ष उमेरका ५० जना पुरूष प्रतिवादी थपिए

फ्रान्समा बढे सामूहिक बलात्कारका मुद्दा, २६ देखि ७४ वर्ष उमेरका ५० जना पुरूष प्रतिवादी थपिए

एजेन्सी : फ्रान्सको एक अदालतले सोमबार छ नयाँ प्रतिवादीविरुद्धको मुद्दाको सुनुवाइ सुरू गरेको छ। यसले मुलुकमा त्रास सिर्जना गरेको सामूहिक बलात्कार मुद्दालाई चौथो सातामा पुर्याएको छ। 

आरोपहरू स्वीकार गरेका डोमिनिक पेलिकोटमाथि लागूपदार्थ दिइएकी आफ्नी पत्नीलाई करिब एक दशकसम्म दर्जनौँ अपरिचित व्यक्तिद्वारा बलात्कार गराएको आरोप लगाइएको छ।

एकहत्तर वर्षीय पेलिकोट यस महिनाको सुरूदेखि २६ देखि ७४ वर्ष उमेरका अन्य ५० जना पुरूषसँगै मुद्दामा छन्। तीमध्ये धेरैले आरोपलाई अस्वीकार गरेका छन् र एक जनामाथि आफ्नै पत्नीलाई बलात्कार गरेको आरोप लगाइएको छ। 

पेलिकोट सोमबार दक्षिणपूर्वी फ्रान्सेली सहर एभिग्ननको अदालतमा उपस्थित भए तर यस साताको अन्त्यसम्म उनी बोल्ने छैनन्।

उनकी ७१ वर्षीया पूर्वपत्नी गिसेल पेलिकोट जनताको तालीबीच अदालतमा आइपुग्दा फेरि पनि ठूलो सङ्ख्यामा अदालती कारवाही हेर्न आएका थिए। 

उनले आफ्ना आक्रमणकारीहरूको व्यक्तित्वको मूल्याङ्कन विवरणहरू भावहीन भएर सुनिइन्। तीमध्ये ५० सह–प्रतिवादीमध्ये सबैभन्दा कम उमेरका जोन के. पनि सामेल थिए। आक्रमणको बेला उनी २२ वर्षका थिए। 
    
जोन के.माथि माजान सहरमा दम्पतीको घरमा गएर दुई पटक गिसेल पेलिकोटलाई बलात्कार गरेको आशङ्का गरिएको छ। फ्रेन्च गुयानामा जन्मिएका उनी १६ वर्षको उमेरमा आफ्नो दाजुसँग एभिग्नन आएका थिए र त्यसपछि सेनामा भर्ती भएका थिए। 

इन्टरनेटमा भेटिएकी एक महिलासँग जोन के. सम्बन्धमा रहेको तर उनीहरूबीचको समय ‘धेरै’ द्वन्द्व र ‘विवाहबाहिरका सम्बन्ध’ले भरिएको अदालती सुनुवाइमा भनिएको छ। उनीहरू अलग हुने बेलामा जोन के.की साथी गर्भवती थिइन्। 

सन् २०१९ नोभेम्बरमा आफ्नी छोरीको जन्ममा उनी अनुपस्थित थिए। त्यसबेला उनीमाथि माजानमा गिसेल पेलिकोटलाई यौन आक्रमण गरेको आरोप लागेको थियो। 
    
अनुसन्धानकर्ताहरूद्वारा अवसादग्रस्त प्रवृत्तिका मानिसका रूपमा वर्णन गरिएका जोन के.लाई साताको अन्त्यमा सुनुवाइ गरिने अपेक्षा गरिएको छ।

अदालतले ३७ वर्षीय एन्डी आर., ३९ वर्षीय ह्युगेस एम., ४३ वर्षीय म्याथ्यु डि. र ३९ वर्षीय फाबियन एस. विरुद्धको आरोपहरू पनि विचार गर्नेछ। तीमध्ये प्रत्येकले पेलिकोट दम्पतीको घरमा एक पटक भ्रमण गरेका थिए।

गिसेल पेलिकोट रातारात नारीवादी प्रतीक बनेकी छन् र यौन दुर्व्यवहार गर्न लागूपदार्थको प्रयोगबारे जागरुकता बढाउनका लागि मुद्दाको सार्वजनिक रूपमा सुनुवाइ गर्न माग गरेकोमा प्रशंसित भएकी छन्। 

उनको समर्थनमा हजारौं प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। 

असोज ६, २०८१ सोमबार २०:१४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।