साफ च्याम्पियनसिप फुटबल : नेपालले श्रीलंकालाई ४-० गोलले हरायो

साफ च्याम्पियनसिप फुटबल : नेपालले श्रीलंकालाई ४-० गोलले हरायो

काठमाडौं : साफ यु-१७ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ। 

भुटानको चाङ्लिमिथाङ रंगशालामा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ४-० गोलअन्तरले पराजित गर्यो। 

जितसँगै समूह ‘बी’मा रहेको नेपालले दुई खेलमा तीन अङ्क जोडेको छ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग १-० गोलअन्तरले पराजित भएको थियो। 

यता दुवै खेलमा पराजित श्रीलङ्का अङ्कविहिन छ। श्रीलङ्का पहिलो खेलमा घरेलु टोली भुटानसँग ५-१ ले पराजित भएको थियो। 

आज भएको खेलमा नेपालको जितका लागि सुजन डङ्गोलले ह्याट्रिक पूरा गरे भने विज्ञान खड्काले एक गोल थपे। खेलको चार मिनेटमा सुजनको गोलमार्फत नेपालले पहिलो अग्रता लिएको थियो। 

त्यसपछि खेलको १२औँ मिनेटमा सुजनले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए।

सुजनले खेलको ३०औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। त्यसपछि खेलको ८४औँ मिनेटमा विज्ञानले गोल गर्दै नेपाललाई ४-० को सहज जित दिलाए। 

नेपालले आफ्नो तेस्रो खेल आयोजक भुटानसँग यही असोज ९ मा खेल्नेछ। 

असोज ६, २०८१ सोमबार १९:४२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।