उपचारका क्रममा सुत्केरीको मृत्युपछि अस्पतालमा चर्कियो आन्दोलन, डाक्टरले लापरबाही गरेको आफन्तको आरोप

उपचारका क्रममा सुत्केरीको मृत्युपछि अस्पतालमा चर्कियो आन्दोलन, डाक्टरले लापरबाही गरेको आफन्तको आरोप

सुर्खेत : कर्णाली प्रदेश अस्पताल सुर्खेतमा सुत्केरीको मृत्यु भएपछि आफन्तहरूले आन्दोलन गरेका छन्। वीरेन्द्रनगर नगरपालिका -६ की १९ वर्षीया शर्मिला सुनारको उपचारका क्रममा मृत्यु भएपछि आफन्तहरू आन्दोलनमा उत्रिएका हुन्। 

सुत्केरी व्यथा लागेपछि सुनार आइतबार बिहान ११ बजे प्रदेश अस्पताल सुर्खेतमा गएकी थिइन्। उपचारका क्रममा उनको मृत्यु भएपछि उपचारमा संलग्न चिकित्सकले लापरबाही गरेको भन्दै आफन्तहरू आन्दोलनमा उत्रिएका हुन्।

बेथा लागेपछि भर्ना भएकी शर्मिलाको बच्चा नचलेको र मृत बच्चा जन्मिएपछि रक्तस्राव भई आइसीयुमा राखेर उपचार गर्दैगर्दा राति मृत्यु भएको प्रदेश अस्पताल सुर्खेतका सूचना अधिकारी विनोद बस्नेतले बताए। 

‘अस्पताल भर्ना गरेपछि बच्चा चलेको थिएन, राती मृत बच्चा जन्मियो। सुत्केरीलाई ज्वरो पनि आएको थियो। राति रक्तस्राव अत्यधिक भयो,’ सूचना अधिकारी बस्नेतले भने, ‘रक्तस्रावपछि सुत्केरी बेहोस हुनुभो। आइसीयुमा राखेर उपचार गरिरहेको बेला मृत्यु भयो।’

यता, आफन्तहरूले भने डाक्टरले आइतबार बिरामीको अवस्था सामान्य भनेको र एक्कासि सोमबार बिहान ४ बजे प्रहरी बोलाएर मृत्युको खबर सुनाएको हुँदा डाक्टरकै लापरबाहीका कारण सुत्केरी र बच्चाको ज्यान गएको आरोप लगाएका छन्।

‘अघिल्लो दिन राम्रै छ भनेको पछिल्लो दिन बिहान मृत्युको खबर दिनुअघि अस्पतालमा प्रहरी बोलाइयो,’ मृतककी आमा रुपकला विकले भनिन्, ‘अहिलेसम्म बच्चा छोरा हो कि छोरी केही जानकारी छैन। त्यसैले डाक्टरकै लापरवाह हो। अप्रेशनमा सहभागी डाक्टरहरूलाई कारबाही गर्नुपर्छ नभए हामी निरन्तर आन्दोलन गर्छौँ।’

आफन्तले आन्दोलनका क्रममा अस्पताल बाहिरका गमला तोडफोड गरेपछि सुरक्षाका लागि प्रहरीको बाक्लो उपस्थिति रहेको छ। मृतकका आफन्त र अस्पताल प्रशासनबीच पहिलो चरणको वार्ता बसेपनि सहमति हुन सकेको छैन। त्यस छलफलले कुनै निष्कर्ष नआएपछि आन्दोलन थप चर्किएको छ।

अस्पताल प्रशासनले समस्या समाधान गर्न नसकेपछि पीडितले अस्पताल परिसरमै धर्ना दिएका छन्। सोमबार दिनभर प्रहरी र आन्दोलनकारीबीच पटक-पटक आमनेसामने स्थिति भएको थियो।

उक्त घटनाको विषयमा राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक लगायतका मानव अधिकारवादी संघ-संस्थाले समेत उक्त घटनाको विषयमा अनुगमन गरेका छन्। 

असोज ६, २०८१ सोमबार १९:०१:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।