काठमाडौँका इन्स्पेक्टर प्रतीकसहितको टिमले ५० लाख लेनदेनमा क्रिप्टो कारोबारीलाई छाडेको पुष्टि,  तीन प्रहरीमाथि कारबाहीको सिफारिस

काठमाडौँका इन्स्पेक्टर प्रतीकसहितको टिमले ५० लाख लेनदेनमा क्रिप्टो कारोबारीलाई छाडेको पुष्टि,  तीन प्रहरीमाथि कारबाहीको सिफारिस

काठमाडौँ : प्रहरीको अनुसन्धानमा जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत प्रहरी निरीक्षक प्रतीक सिंह सहितको टिमले क्रिप्टो कारोबार गरेको आरोपमा पक्राउ परेकासँग ५० लाख लिएर हिरासतमुक्त गरेको खुलेको छ।

प्रहरीकै अनुसन्धानमा इन्स्पेक्टर प्रतीक सिंह, सहायक हवल्दार गणेश खड्का र प्रहरी जवान साजन शर्मा चपाईले आशिष आचार्यको परिवारसँग ५० लाख रकम असुलेर हिरासत मुक्त गरेको पुष्टि भएको हो।

उनीहरूबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालयले एसपी प्रजित केसीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले सो घटनामा तीन जनालाई दोषी ठहर्याउदै कारबाहीको सिफारिस गरेको हो।

समितिले हवल्दार खड्काले भदौको दोस्रो हप्ता क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा आशिषलाई पक्राउ गरेर दुई दिन हिरासतमा राखेका थिए। आचार्यको परिवारले तेज तामाङलाई ५० लाख रुपैयाँ दिएपछि आचार्य रिहा भए। आचार्यको परिवारले यसबारे प्रहरी सङ्गठनमा गुनासो गरेपछि छानबिन गरेको थियो।

अनुसन्धानमा आशिष र तेज साथी रहेको र दुवै जना क्यानडामा सँगै बसेको खुलायो। तामाङ केही अगाडि नै नेपाल आए। आचार्य एक महिनाअघि नेपाल आए। समिति स्रोतका अनुसार आचार्यबारे तामाङले नै प्रहरी हवल्दार खड्कालाई सूचना दिएर पक्राउ गराएका थिए। पक्राउपछि तामाङले नै आचार्यको परिवारसँग ५० लाख लिएर उनलाई हिरासतमुक्त गराए।

अनुसन्धानकर्ता अनुसार आचार्य परिवारसँग असुलिएको ५० लाखमध्ये ३५ लाख आचार्यले बैङ्कमा राखे भने १५ लाख प्रहरीलाई दिए। अनुसन्धानमा सिंहसहितको टिमले पहिला पक्राउ गरे पनि क्यानडामा क्रिप्टो करेन्सीको कारोबार गरेकोमा नेपालमा अनुसन्धान गर्नु नपर्ने भनेर रिहा गरेको खुलेको छ।

असोज ६, २०८१ सोमबार १८:४६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।