३५ रूपैयाँको मिनिरल वाटरलाई सय रूपैयाँमा बेच्ने जिम्बु थकालीलाई ३ लाख जरिवाना

३५ रूपैयाँको मिनिरल वाटरलाई सय रूपैयाँमा बेच्ने जिम्बु थकालीलाई ३ लाख जरिवाना

काठमाडौं : तोकिएको मूल्य भन्दा दोब्बर मूल्यमा मिनिरल वाटर बेचेको भन्दै काठमाडौंस्थित शान्ति नगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ। 

जिम्बु थकालीले उपभोक्ताहरूलाई ३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई १ सय रूपैयाँसम्म लिएको गुनासो आएपछि वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले त्यहाँ छड्के अनुगमन गरेको थियो। 

त्यसक्रममा उक्त थकालीले विभागकै महानिर्देशकलाई समेत ठगी गरेको महानिर्देशक राजन पौडेलले बताए। 

उनले भने, ‘जिम्बु थकाली रेष्टुरेण्टमा पानीको धेरै मूल्य लिएको गुनासो आयो। के रहेछ भनेर आफैँ खाना खान भनेर आएका थियौं। हामी रेष्टुरेण्टमा आयौं। पानी मागिएको थिएन। पानी ल्याएर दिनुभयो। पानी र खाजा मःमः खाऔं। एक बोतल पानीको अंकित मूल्य ३५ रुपैयाँ छ। त्यसमा तोकेको भन्दा बढी मूल्य लिन पाइँदैन। खुद्रा मूल्य भन्दा दोब्बर शुल्क लिएको पाइयो।’

त्यसपछि रेष्टुरेण्टले पानीमा तोकिएको गरेको मूल्य भन्दा दोब्बर मूल्य लिएर उपभोक्ता ठगी गरेको आधारमा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम हदैसम्मको कारबाहीस्वरूप ३ लाख रुपैयाँ जरिवानासहित सचेत गराएको उनले बताए। 

महानिर्देशक पौडेलले रेष्टुरेण्टले अब पनि अंकित मूल्य भन्दा बढीमा पानी लगायतका कुनै पनि वस्तु बेचेको पाइएमा रेष्टुरेण्ट शिलबन्दी गर्ने बताए।

असोज ६, २०८१ सोमबार १८:३४:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।