रनाहामा छक्कापञ्जा टिम,  पाएन गीतले जस, बढ्दो जितुको बहस

रनाहामा छक्कापञ्जा टिम,  पाएन गीतले जस, बढ्दो जितुको बहस

काठमाडौँ : फिल्म चर्चामा ल्याउन अनेक हतकण्डा गर्न माहिर फिल्म छक्कापञ्जा टिमले छक्कापञ्जा-५ फिल्मको चर्चा बढाउन दुई वटा गीत सार्वजनिक गर्यो। तर दुवैबाट धक्का पायो। पहिलो गीतमा समावेश ‘ बिहे भाको छैन, कुमारी नि हैन’ भन्ने शब्दले नै मार खुवायो।

सार्वजनिक रूपमा निकै आलोचना भएपछि दीपाश्री निरौला नै प्रतिरक्षामा उत्रिनु परेको थियो। तर आलोचना कम भएन। एकातिर प्रमोसन गीतको नकारात्मक प्रभाव, अर्कोतिर जितु नेपालको ‘ज्वाइँ साब’ र ‘बाह्र गाउँ’को चुनौती, रनाहामा परेको टिमले दोस्रो प्रमोसन गीत ल्यायो ब्रेकअप गीत भन्दै।

दीपा-दीपकले यस पटक फिल्मको हाइप बनाउन माग्ने बुढा केदारलाई तुरुपको रूपमा प्रयोग गर्दै उनी केन्द्रित छायाङ्कन गराएर गीत ल्यायो। गीत टिकटकमा हिट त भयो तर शब्द आधारमा सरापे गीत बन्यो।

गीत चल्यो तर बहस नकारात्मक कोणमा भयो। गीतको सरापे शब्द ब्याक फायर भएर उल्टो छक्कापञ्जा-५ टिमलाई सराप लाग्ने जोखिम बढायो गीतले।

यसमा जितु नेपाल पनि मिसिए। छक्कापञ्जा टिमकै भूपू सदस्य रहेका जितुको एकल अभिनय रहेको फिल्म ‘ज्वाइँ साब’ पनि छक्कापञ्जा-५ सँगै रिलिज हुने भएपछि उनीमाथि छेडखानी बढिरहेको थियो। उनले एकाएक प्रकाश सुवेदीको कार्यक्रममा गएर दीपा अनि दीपकप्रति मात्र हैन केदारप्रति पनि फायर खोले।

फेसबुकमा लेखेको एक स्टाटसकै कारण दीपाले हियाउँदै फोन गरेपछि उनलाई कमेडी क्लबको अध्यक्षको भूमिकाबाट हटाएपछि दीपकबाट आएको प्रतिक्रिया, दीपक सामाजिक सञ्जालमा आदर्शका कुरा लेख्ने तर व्यवहारमा भने निकै इख बोकेर बस्ने व्यक्ति भएको अनि केदार सुन समान रहेको र उनको माग अन्य फिल्ममा भए पनि उनी फोहरमा बसेको सुन जस्तो भएको लगायतका विश्लेषण ठोकिदिए।

छक्कापञ्जा टिमबाट बाहिरिएपछि आफूले फिल्ममा सोलो अभिनय गर्ने मौका पाएको र खुसी पनि रहेको भन्दै केदार भने दीपक-दीपाको बन्धक बनेको आशयसम्मको विश्लेषण गरेका थिए। 

जितुले दीपकको यही भनाई केन्द्रित हुँदै सामाजिक सञ्जालमा जे लेखेको हो त्यही अनुसारको व्यवहार गरे त हुने हो भन्दै दीपककै भित्र दानव भएको कोणबाट विश्लेषण गरे। दीपकले आफूमाथि अति तुच्छ व्यवहार गर्ने गरेको भन्दै उनले उदाहरण दिँदै छक्कापञ्जा-५ सँगै रिलिज हुन लागेको १२ गाउँको टिमलाई शुभकामना दिँदै फेसबुकमा लेखेको तर आफू दुखदेखिको साथी भए पनि शुभकामना नदिएको भन्दै खूब चित्त दुखाएका थिए।

उनले दीपकबारे भने'बेवास्था गर्नु पनि एक प्रकारको सजाय नै हो। उहाँले मेरोबारेमा केही बोल्नु भा' छैन। त्यो एक प्रकारको मलाई सजाय नै हो। उहाँ एकदम कठोर मन भएको मान्छे हो। दयालु पनि हो तर भित्र इगो राख्ने मान्छे पनि हो।

दीपकराज स्क्रिप्ट मात्रै हैन सामाजिक सञ्जालमा स्टाटस पनि उत्तिकै राम्रो लेख्ने ब्यक्ती भएको भन्दै स्टाटस लेखेजस्तै ब्यक्ती बन्न कामना गरे। त्यो कामना चेँ व्यङ्ग्य रहेछ। 

दीपकले केही दिन अगाडि फेसबुकमा लेखेका थिए ‘अरूको असफलताका खबरले मन प्रसन्न हुन्छ भने बुझौँ दानव अन्त छैन तपाइ हामी भित्रै छ ! शुभ दिन !’

उनले दीपकले फेसबुकमा लेखे अनुसार उनी अर्काको सफलतामा खुसी हुनुपर्ने भन्दै एउटा आफ्नै सुख-दुखको साथीको फिल्म आउँदैछ। छक्कापञ्जा नहेर्नु भनेर चर्को बहस भइरहेको १२ गाउँको गीत फेसबुकमा सेयर गरेर शुभकामना दिए पनि आफूलाई शुभकामना नदिएको भन्दै भने ' स्टाटस लेखे जस्तै हुनुस्। धेरै इगो नलिनुस्।'

जितुको सो अन्तर्वार्ता हेर्नेहरूमाझ दीपा र दीपकको नकारात्मक पर्ने पक्का छ। यसको मार फिल्मको प्रचारमा नपर्ने कुरै भएन। पहिला एकै गीत फिल्मको प्रचारमा काफी हुन्थ्यो। यो पटक दुई वटा गीतले समेत साथ नदिएपछि कतै तेस्रो गीत पो ल्याउँछन् कि। तेस्रो गीत मेकिङकै चरणमा हो भने जितु टार्गेटमा पर्न बेर छैन।

जसले जसलाई टार्गेट गरे पनि छक्कापञ्जा-५ लाई घाटै देखियो अहिलेसम्म।

असोज ६, २०८१ सोमबार १८:१७:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।