सुरक्षाको कारण देखाउँदै अमेरिकामा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको कार्यक्रम रद्द, रास्वपाले भन्यो 'कर्मको फल'

सुरक्षाको कारण देखाउँदै अमेरिकामा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको कार्यक्रम रद्द, रास्वपाले भन्यो 'कर्मको फल'

काठमाडौं : नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कले अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई गर्ने भनिएको स्वागत कार्यक्रम स्थगित भयो। 

नेपाली महावाणिज्यदूतावासले विज्ञप्ति जारी गर्दै सुरक्षा संवेदनशीलता र साइडलाइन वार्ताको व्यस्तताका कारण स्वागत कार्यक्रम अन्तिम समयमा स्थगित भएको भनेको छ। 

'प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको संयुक्त राष्ट्र संघको महासभाको समिट अफ द फ्युचर तथा अन्य साइडलाइन वार्ताहरूमा व्यस्त रहनु परेको छ,' विज्ञप्तिमा भनिएको छ, 'समारोहस्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने वृहत् कार्यक्रम स्थगन गरिएको ब्यहोरा सूचित गरिन्छ। 

तर, स्वागत कार्यक्रम स्थगित गर्नुको कारण सुरक्षा संवेदनशीलता मात्रै नभएको भन्दै अनेकन् टिप्पणी भइरहेका छन्। तर, महावाणिज्यदूतावासले भने यसको कारणबारे प्रष्ट पारेको छैन। 

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले अमेरिकामा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणाले असुरक्षित महसुस गर्नु उनीहरूकै कर्मको फल भनेका छन्।

अर्यालले पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, ‘नेपाल सरकारको लेटरप्याडमा के लेखिएको छ, उहाँहरू असुरक्षित हुनुभयो रे अमेरिकामा! दुर्भाग्य, अचम्म लाग्छ मलाई। त्यो उहाँको कर्मको फल हो।’

असोज ६, २०८१ सोमबार १८:००:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।